• २५ माघ २०८२, आइतबार

राष्ट्रियता सुदृढ पार्ने सङ्कल्प

blog

राष्ट्रियता बलियो नभएका मुलुकमा बेला बेलामा समस्या आइरहन्छन् । प्रतिरोध गर्ने शक्ति नभएको शरीरमै रोग लाग्ने हो । जुनसुकै मुलुक नै किन नहोस् ठुलो हुँदैमा राष्ट्रियता बलियो हुँदैन । राष्ट्रियता सुदृढ छ भने साना राष्ट्र पनि बलिया हुन्छन् । मानिस जतिसुकै ठुलो र सानो भए पनि ज्वरो नाप्ने यन्त्र एउटै हुन्छ । कुनै पनि राष्ट्रको मापन गर्नुअघि त्यस राष्ट्रको इतिहास र संस्कृति मात्रै हेरिँदैन, जनतामा राष्ट्रप्रतिको निष्ठाभाव पनि हेरिन्छ । आफू जन्मे हुर्केको राष्ट्रप्रति निष्ठाको भावना हुनु सच्चा राष्ट्रवाद हो । चुनावले मात्रै राष्ट्रवाद स्थापित हुँदैन, स्वतन्त्र राष्ट्रको पहिचान पनि चिन्नु पर्छ । कतै हामीले आफ्नै राष्ट्रको पहिचान चिन्न नसकेका त छैनौँ ? यति बेला नेपाली युवालाई समयले दिएको चुनौती नै यही हो । नेपाली पहिचानमाथि खेलबाड हुने कुनै पनि गतिविधिमा संलग्न भइयो भने नेपालीपन समाप्त हुने छ । राष्ट्रवाद राष्ट्रको प्राण हो, त्यसको रक्षा हामीले नै गर्ने हो, अरू कोही आएर गरिदिँदैन ।

प्रियतावाद संसारभर लोकप्रिय छ यतिबेला । प्रियतावादले आवरणमा राष्ट्रवादलाई केन्द्रमा राख्न खोज्छ । सुन्दा राम्रै लाग्छ तर त्यसलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्छ । नेपालको झन्डा ओढ्नेले मात्र नेपाली पहिचान कायम राख्छ र ऊ सच्चा राष्ट्रवादी हुन्छ भन्ने हुँदैन । प्रियतावादी आवरणमा मात्रै राष्ट्रवादी देखिन्छन् तर वास्तविकता वेग्लै हुन्छ । कतिपयले आर्थिक राष्ट्रवादको पनि कुरा गरेको सुनिन्छ । विदेशी सामान आउन नदिने, प्रयोग पनि नगर्ने, स्वदेशी उत्पादनमात्र प्रयोग गर्ने भनिन्छ । अहिलेको अन्तरनिर्भर संसारमा यो सम्भव होला ? अन्तरनिर्भरता र मुलुकको पहिचान फरक फरक विषय हुन् ।

राष्ट्रियता र राष्ट्रवादको परिभाषा फरक छ । राष्ट्रियताले राष्ट्रलाई प्रेम गर्छ र अरू राष्ट्रलाई सम्मान गर्छ, घृणा होइन । राष्ट्रवादले अरू राष्ट्रलाई घृणा गरेको देखियो, किनकि आवरणमा मात्र राष्ट्रवाद छ । अन्तरनिर्भर संसारमा अरूलाई घृणा गरेर एक्लै हिँड्न सकिन्न । हामीलाई चाहिएको राष्ट्रियता थियो तर त्यसलाई पन्छाएर राष्ट्रवाद स्थापित गर्न खोज्दा समस्या आइलाग्यो । जेनजी विद्रोह त्यसैको परिणाम थियो । राष्ट्रवादीको जस लिन जेनजी विद्रोहलाई पनि विदेशीको स्वार्थ देखियो । भुइँ तहका नागरिकका मूल मुद्दा व्यवस्थापन गर्न नसक्दा असफल हुनु प¥यो तर अरूले काम गर्न दिएन भन्ने भाष्य सिर्जना गरियो । सरकार बाहिरबाट ढालियोसमेत भनियो । कसले ढाल्यो त सरकार ? कुन विदेशीले के ग¥यो ? भन्न सक्नु प¥यो । सत्यको उद्घाटन हुनु पर्छ । असफलताको दोष बाहिरी शक्तिलाई दिने हामी कस्ता राष्ट्रवादी भयौँ त ? 

भोलि पनि यही नियति दोहोरिए के गर्ने त ? असफलताको प्रतिकार नागरिक स्वयम्ले गर्ने हो । नागरिक जिम्मेवारीबाट पन्छिनु भएन । पर्खिएर सेवा पाइँदैन, विकास पनि हुँदैन । जहाँ समस्या आइलाग्छ त्यहाँ प्रश्न गर्नु प¥यो । नागरिक निगरानी नभई देश बन्दैन । निर्वाचनमा मत दिएर पठाएका प्रतिनिधिप्रति ढुक्क हुने संस्कारले हामी धेरै पछाडि प¥यौँ । निरन्तर खबरदारी गरिरहनु प¥यो । नागरिक भन्छ–सरकार अभिभावक हो, उसले हाम्रो कल्याण गर्नु पर्छ । सरकार नागरिकको साझेदार हो, हामीले अभिभावक मान्नु पर्दैन । सरकारले त्यो सम्बन्ध पनि देखाउँदैन । अभिभावक राज्यलाई साझेदार राज्य बनाउनु प¥यो । 

लोकतन्त्रको रक्षा गर्न र राष्ट्रवादको नाममा हुने अधिनायकवादको यात्रामा रोक लगाउन पनि निरन्तर खबरदारी गरिरहनु पर्छ । पाँच वर्ष चुनावका लागि कुर्ने र केही भएन भन्दै दस दस वर्षमा आन्दोलन गर्नुको सट्टा मत दिएर पठाएको भोलिपल्टदेखि नै प्रतिनिधिलाई प्रश्न सोध्न थालौँ । चित्तबुझ्दो जवाफ नआए नयाँ बाटो रोजौँ । पर्खेर बस्ने समय अब छैन । विदेशीलाई गाली गरेर राष्ट्रवादी बन्ने छुट अब कसैलाई पनि दिनु हुँदैन । नेपालको सरकारलाई आफूखुसी हटाउने कुन विदेशी रहेछ, थाहा पाउनु परेन ? हाम्रो सुरक्षा प्रणालीप्रति पनि प्रश्न उठ्ने भयो । विश्व शान्तिमा संसारको विश्वास जितेको नेपाली सेनाले पनि त थाहा पाउनुपर्ला नि, नेपाल सरकारलाई कसले थ्रेट गरेको रहेछ ? नागरिक सेना सम्बन्धको कडी थियो जेनजी विद्रोहको व्यवस्थापन । नागरिक समाज र सेना मिलेर नक्कली राष्ट्रवाद होइन, सक्कली राष्ट्रियता जोगाऔँ । मुलुक अप्ठेरो अवस्थामा परे के गर्ने त भनेरै पृथ्वीनारायण शाहले सैनिक सङ्गठनको परिकल्पना गरेका हुन् । 

आपसमा लडेर, धर्म, जाति, क्षेत्र र वर्गमा विभाजित भएर कुनै पनि मुलुक बनेका छैनन् । राष्ट्रको धर्म, संस्कृति, शिक्षा, वैदिक विज्ञानमाथि देशीविदेशी राजनीति भयो भने त्यसले राष्ट्रको पहिचान गुमाउन मद्दत गर्छ । कोही नेपाली त्यसैमा मलजल गर्ने काममा त लागेको छैन ? जेनजी विद्रोहलाई यही कोणबाट हेर्ने प्रयास भयो । जेनजी विद्रोह त अङ्कगणितको राजनीति, विधिको शासनको अभाव र दलहरू सिद्धान्तमा नहिँड्दाको परिणाम थियो । फेरि पनि युवाले चाहे जस्तो सुशासन र उनीहरूको भावनाको सम्बोधन भएन भने अर्को दुर्घटना निम्तिन सक्छ । चुनाव त बिथोलिएको राजनीतिलाई लिकमा ल्याउने एउटा कडी मात्रै हो । कम्तीमा दलभित्र रहेका युवाले राष्ट्रिय स्वार्थलाई व्यक्तिगत र दलीय स्वार्थमा प्रयोग नगरी एकजुट भएर लागे भने राष्ट्रप्रति उठेका प्रश्न आफैँ निस्तेज भएर जाने छन् । 

समयको पदचाप पच्छ्याउन नसक्नेहरूले युगको भावनालाई पनि ‘षड्यन्त्रको सिद्धान्त’ देख्छ । अब यो खालको भावनालाई निमिट्यान्न पार्ने जिम्मेवारी नागरिकको काँधमा आएको छ । राष्ट्र नचिन्ने, राष्ट्र र नागरिकलाई शिरमा नराख्ने, सिद्धान्त नबोक्ने र उत्तेजनाको राजनीति गर्ने होइन जुनसुकै दल वा व्यक्तिलाई पनि मतदान गर्नुअघि विवेक पु¥याऔँ । 

पहिलो सर्त राष्ट्रको संरक्षण, संवर्धन र प्रवर्धन हुनु पर्छ । राष्ट्रिय एकता कायम राख्न सक्दा मात्रै उक्त सर्त पूरा हुने हो । जेमा पनि ‘षड्यन्त्रको सिद्धान्त’ देख्ने र त्यही अनुकूलको राजनीति गर्नेले राष्ट्र चिन्दैन । षड्यन्त्रको सिद्धान्त सधैँ चल्दैन, राष्ट्रको धर्म, संस्कृति र पहिचान जोगाउने स्थायी शक्ति चिन्न सकिएन भने राष्ट्रको पहिचान पनि सुरक्षित राख्न सकिन्न । नेपाली हुँ भन्नेहरू यथार्थमा बस्नै पर्छ । धरातल टेक्नै पर्छ । चुनावमा सबैको जित हुँदैन । कसैले हार्नै पर्छ तर त्यसलाई स्वाभाविक रूपमा लिएर अघि बढ्नु पर्छ । जेमा पनि षड्यन्त्रको सिद्धान्त देख्ने संस्कृति निमिट्यान्न पार्नु पर्छ, अनि मात्र राष्ट्रियता बलियो हुन्छ ।

उत्तेजनाको राजनीतिको परिणाम आज सुडानले भोगिरहेको छ । नेपाल पनि दसबर्से सशस्त्र सङ्घर्षको सिकार भएकै हो । माओवादी लडाकुको व्यवस्थापन नभएको भए सायद त्यही नियति भोग्नुपर्ने हुन्थ्यो कि ? सुझबुझपूर्ण राजनीति र नेपाली सेनाको कार्यकुशलता र चतु¥याइँले निकास दियो । माओवादीका योग्य लडाकुलाई सेनामा समायोजन गरियो । लोकतन्त्रीकरण र समावेशी सिद्धान्त कार्यान्वयनका नाममा योग्य लडाकु सेनामा भर्ती गरियो । सहज रूपमा समायोजनबाट लडाकु भिœयाएर सेनाले समयमै आफ्नो नीति नियममा बाँध्न सफल भयो । त्यो ऐतिहासिक सफलता थियो । सुडानको जस्तो एकीकृत भएपछिको सेनाको नेतृत्व कसले गर्ने भन्ने विवाद यहाँ भएन । सेना र अर्धसैनिक बलबिच त्यही विषयमा भएको विवादले सुडान मानवीय सङ्कटमा फस्यो, जुन विवाद यद्यपि कायम छ । उत्तेजनाको राजनीति क्षणिक हुन्छ, त्यसले मुलुकको हित गर्दैन भन्ने पाठ सुडानबाट सिक्नु पर्छ । जनताको सुख, समृद्धि र राष्ट्रको कल्याणका लागि भन्दै हामी चुनावमा जाँदै छौँ भन्ने हेक्का सबै दलका उम्मेदवारले राख्नु पर्छ । चुनाव जित्नु मात्रै सबैथोक होइन, त्यसपछिको जिम्मेवारी झन् पेचिलो हुने छ । 

चुनाव नजिकिँदै गर्दा मुख्य विषय सुरक्षा चुनौती हो । सेना परिचालन, प्रहरी वा म्यादी प्रहरी बढाएर मात्रै निर्वाचन सफल हुन्छ भन्ने मनोविज्ञान सही होइन । त्यसका लागि आवश्यक स्रोतसाधन पनि उपलब्ध गराउनु पर्छ । राज्य स्रोतको सही ठाउँमा परिचालन गर्न सकियो भने त्यसले प्रतिफल दिन्छ, त्यसको ‘मिसयुज’ भयो भने सुरक्षा चुनौती थपिन्छ । सुरक्षाको जिम्मेवारी मात्रै होइन सुरक्षा निकायको काम, कर्तव्य र अधिकार पनि स्पष्ट पार्नु पर्छ । समस्या आएपछि अधिकारको व्याख्या गर्नु उचित हुँदैन । सेना परिचालन हुने भएपछि संयमता अपनाउनु पर्छ । मूल्यमान्यता, नैतिकता र सैनिक ‘रुल एन्ड रेगुलेसन’ पनि हेर्नु पर्छ । त्यसैले जिम्मेवारी अनुसारको स्रोतसाधन र अधिकार उपलब्ध गराउनु पर्छ भनिएको हो । 

अहिलेको मुख्य विषय राष्ट्रिय एकता कसरी कायम गर्ने भन्ने हो । नेपाली दाजुभाइबिच कसिलो एकता भयो भने राष्ट्रिय एकतालाई कसैले पनि छिन्नभिन्न पार्न सक्दैन । हरेक विषय वस्तुको सही विश्लेषणसहित अघि बढ्न सकियो भने एकता अझै सुदृढ हुने हो । विषय वस्तुको समयसापेक्ष सही व्याख्या तथा विश्लेषण गरी त्यसलाई सम्बोधन गर्न सकिएन भने गलत परिणाम आउँछ । त्यही भएर धरातलीय यथार्थ बुझेर अघि बढ्नु पर्छ भनिएको हो । 

इतिहास र संस्कृतिमा धनी छौँ हामी । वीर र दूरदर्शी पुर्खाले आर्जन गरिदिएको राष्ट्र हो नेपाल । शक्तिले राष्ट्र आर्जित ग¥यो, शक्तिले नै बचाएर राख्यो । अब शक्ति मात्रै होइन, चेतना र समृद्धिबाट मात्रै राष्ट्रलाई जीवित राख्न सकिन्छ । त्यो दायित्व पूरा गर्ने अभिभारा युवाको काँधमा आएको छ । सङ्व्रmमणकालमा उभिएको युवापुस्तामाथि राष्ट्रिय भावना र निष्ठा जोगाउने महत्वपूर्ण कार्यभार छ । यो कार्यभार एकताबाट मात्रै पूरा हुने हो । राष्ट्रिय प्रश्नमा एकताको अभाव अहिलेको मुख्य समस्या हो, यसैले राष्ट्र कमजोर भएको छ । विचार र सिद्धान्त फरक भए पनि राष्ट्रिय मुद्दामा युवापुस्ता एक ठाउँमा उभिनै पर्छ । 

लडाइँ लडेर क्षति बेहोर्नुभन्दा लडाइँ हुनै नदिने बाटो खोज्नु पर्छ । पूर्वजले लडाइँ नलडी कसरी विजय प्राप्त गर्न सकिन्छ भन्ने मूलमन्त्र अँगालेका थिए । इतिहासप्रति गौरव गर्नु पर्छ । नेपाली सेनाले ‘सबै जातजाति, वर्ग र समुदायले आआफ्नो भाषा, कला, संस्कृति र भूमिको अपनत्व लिने हो भने हामीमाथि कसैको प्रभाव र दबाब पर्न सक्दैन’ भनेर त्यसै भनेको होइन । हाम्रो राष्ट्रिय पहिचान वीर देशभक्त नेपालीको रगत र पसिनाबाट स्थापित भएको हो । आफ्नो कमजोरी लुकाउने अस्त्र नबनोस् राष्ट्रवाद । सबै शक्ति एक भएर कम्तीमा ‘मुलुक’ लाई पहिलो सर्त बनाउने हो भने राष्ट्रियता र प्रजातन्त्र दुवै सुदृढ हुने छ । फागुन २१ को निर्वाचन सफल बनाई युवाको काँधमा देशको बागडोर सुम्पिएर नयाँ नेपालको यात्रा सुरु गर्नु पर्छ । जुनसुकै विचार, सिद्धान्त र पार्टीका नाममा विजयी बनेर आए पनि सबै जनप्रतिनिधिबिच राष्ट्रिय मुद्दामा बलियो एकता भयो भने राष्ट्रियता सुदृढ भई समृद्धिको यात्रा पनि सुरु हुने छ ।