पूर्वप्रधानमन्त्रीमध्ये नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कम्युनिस्ट पार्टीकै सहसंयोजक माधवकुमार नेपाल प्रतिनिधि सभा सदस्यको प्रतिस्पर्धामा हुनुहुन्छ ।
काठमाडौँ, माघ २५ गते । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि देशको कार्यकारी नेतृत्व समालेका तीन जना शीर्ष नेता प्रतिनिधि सभा निर्वाचनमा तीन भिन्न निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएका छन् । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा कम्युनिस्ट पृष्ठभूमिका तीन पूर्वप्रधानमन्त्रीले उम्मेदवारी दिएर प्रचारप्रसारमा होमिएका हुन् ।
संविधान सभाबाट विसं २०६५ जेठ १५ गते २४० वर्षदेखिको राजतन्त्रात्मक शासनव्यवस्थाको अन्त्य गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेयता निरन्तर देशको कार्यकारी र पार्टी नेतृत्वमा बसेका केही नेता फागुन २१ को निर्वाचनमा प्रतिस्पर्धी हुनुहुन्न । विघटित प्रतिनिधि सभाको पहिलो दल नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी मनोनयन दर्ताअघि माघ ६ गते सचिवालयमार्फत प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुभयो ।
पूर्वप्रधानमन्त्रीमध्ये नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कम्युनिस्ट पार्टीकै सहसंयोजक माधवकुमार नेपाल प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धामा हुनुहुन्छ तर नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल निर्वाचनमा उम्मेदवार बन्नुभएन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी मनोनयन दर्ता गरे पनि फिर्ता लिनुभएको छ ।
आधार क्षेत्रमा लगातार विजयी
कांग्रेस पूर्वसभापति देउवा २०४८ देखि २०७९ सम्म भएका आवधिक निर्वाचनमा निरन्तर डडेलधुराबाटै उम्मेदवार बन्नुभयो । उहाँलाई डडेलधुरावासीले सात पटक संसद्मा पठाए । संविधान सभा निर्वाचनमा कैलालीबाट पनि उहाँ विजयी हुनुभयो । उहाँ २०४८ को निर्वाचनपछि गृहमन्त्री र २०५२, २०५८, २०६१, २०७४ र २०७८ मा प्रधानमन्त्री हुनुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओली झापाबाटै चुनाव लड्दै आउनुभएको छ । २०६४ को संविधान सभा निर्वाचनमा पराजित भए पनि त्यसअघि र पछिका आवधिक निर्वाचनमा प्रतिस्पर्धा गरेर उहाँ संसद्मा उपस्थित हुनुहुन्छ । उहाँले साबिककै क्षेत्र झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दिनुभएको छ । एमालेले उहाँलाई प्रधानमन्त्री पदको उम्मेदवार पनि घोषणा गरेको छ । उहाँ २०७२, २०७४ र २०८१ मा प्रधानमन्त्री बन्नुभएको थियो ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०६४ को संविधान सभा निर्वाचनमा रोल्पा र काठमाडौँ हुँदै त्यसयता सिरहा, गोरखाबाट विजयी बन्नुभएको थियो र फागुन २१ गते तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिनुभएको छ । संसदीय राजनीतिमा आएपछि पूर्वप्रधानमन्त्री प्रचण्ड पनि निरन्तर प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित हुनुभएको छ । उहाँले २०६५, २०७३ र २०७९ मा प्रधानमन्त्रीको जिम्मेवारी समाल्नुभयो ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल २०६६ मा प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुभयो । नेता नेपालले १५ वर्षसम्म एमालेको नेतृत्व गर्दा प्रतिनिधि सभा सदस्यका रूपमा संसद्मा पनि निरन्तर उपस्थिति जनाउनुभयो । उहाँले रौतहट क्षेत्र नं. १ बाट उम्मेदवारी दिनुभएको छ । उहाँ काठमाडौँ क्षेत्र नं. २ बाट पनि निर्वाचित हुनुभएको थियो ।
उम्मेदवार नभएका अन्य पूर्वप्रम
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल इलामबाट निरन्तर संसद्मा प्रतिनिधित्व गर्नुभयो र २०७९ को प्रतिनिधि सभा निर्वाचनमा एमाले छाडेर तत्कालीन नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार बनेका नेता खनालको संसद् यात्रामा विराम लाग्यो तर २०७४ को प्रतिनिधि सभा निर्वाचनमा इलाम क्षेत्र नं. १ बाटै भारी मतान्तरसहित उहाँ विजयी हुनुभएको थियो । उहाँले यस पटक उम्मेदवारी दिनुभएन । उहाँ २०६७ मा प्रधानमन्त्री हुनुभएको थियो ।
तत्कालीन नेकपा (माओवादी), एकीकृत माओवादी, नयाँ शक्ति हुँदै प्रगतिशील लोकतान्त्रिक पार्टीको संरक्षक रहेका डा. बाबुराम भट्टराईले पनि गणतन्त्र स्थापनापछि २०७९ मा उम्मेदवारी दिनुभएन । उहाँले फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी मनोनयन भरे पनि फिर्ता लिनुभएको छ । उहाँ २०६८ मा प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुभयो । पञ्चायतकालदेखि प्रजातन्त्रसम्म देशको कार्यकारी प्रमुख रहेका पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पनि उम्मेदवार हुनुहुन्न । उहाँले संविधान सभा २०६४ को निर्वाचनपछि संसद्मा प्रतिनिधित्व गरे पनि त्यसयता संसदीय यात्राबाट पलायन हुनुभयो । २०४०, २०४६, २०५३ र २०५९ मा प्रधानमन्त्री पदमा रहेका नेता चन्दले सत्ता राजनीति छाडे पनि अध्ययन र साहित्य लेखनलाई निरन्तरता दिनुभयो । संविधान सभा निर्वाचन २०७० को निर्वाचन गराउन गठित सरकारको नेतृत्व गरेका मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मी चुनावी प्रतिस्पर्धामा कहिल्यै आउनुभएन । गणतन्त्र स्थापनाकाल र त्यसपछि प्रधानमन्त्री पदमा रहेका कांग्रेसका पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको निधन भइसकेको छ ।
प्रधानमन्त्रीमा प्रस्तावित पार्टीका उम्मेदवारको प्रतिस्पर्धा
प्रतिनिधि सभा निर्वाचनमा बहुमत हासिल गरेर देशको नेतृत्व गर्ने लक्ष्य सबै राजनीतिक दलले राखेकै हुन्छन् तर केही दल प्रधानमन्त्री पदको प्रस्तावित उम्मेदवार घोषणा गरेरै निर्वाचनमा होमिएका छन् । नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्री पदको उम्मेदवार बनाएको छ । उहाँ सर्लाही क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार हुनुहुन्छ । त्यसै गरी एमालेले अध्यक्ष ओलीलाई र राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ । उहाँहरू दुई जना झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दिनुभएको छ ।