गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २४ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभर स्थानीय तहमा कार्यरत कृषि तथा पशु सेवा प्राविधिक र कृषि स्नातक/पशु चिकित्सकको यथार्थ विवरण उपलब्ध गराउन अनुुरोध गरेको छ ।
मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखी सबै स्थानीय तहबाट आवश्यक विवरण सङ्कलन गरिदिन समन्वयका लागि अनुरोध गरेको हो ।
स्थानीय तहमा प्राविधिक जनशक्तिको अवस्था पहिचान गरी आगामी कार्यक्रम र बजेट व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले विवरण माग गरिएको मन्त्रालले जनाएको छ ।
मन्त्रालयले साबिकको ‘एक गाउँ विकास समिति, एक प्राविधिक’ कार्यक्रम र हालको ‘स्थानीय तहमा कृषि स्नातक प्राविधिक परिचालन कार्यविधि २०८२’ बमोजिम स्थानीय तहमा ससर्त हस्तान्तरित कार्यक्रमको करार पदमा नियुक्त भई कार्यरत कृषि स्नातक/पशु चिकित्सक कर्मचारीको तथ्याङ्क अध्यावधिक गर्न लागेको हो ।
विशेष गरी साबिकका गाउँ विकास समितिमा कामकाज गर्ने गरी राजपत्र अनङ्कित द्वितीय श्रेणीको प्राविधिक सहायक पदमा करारमा नियुक्त भई हाल स्थानीय तहमा समायोजन भएका र सेवा निरन्तरता दिइरहेका कर्मचारीको विवरण माग गरिएको छ ।
साथै चालु आर्थिक वर्षको स्वीकृत कार्यविधि अनुसार ससर्त हस्तान्तरित कार्यक्रम अन्तर्गत स्थानीय तहमा करारमा नियुक्त कृषि स्नातक र पशु चिकित्सकको विस्तृत जानकारी पनि अनिवार्य उपलब्ध गराउनुपर्ने मन्त्रालयले जनाएको छ ।
कर्मचारीको नाम, श्रेणी, सेवा समूह र सम्पर्क ठेगानाका साथै सम्बन्धित कर्मचारीको नियुक्तिपत्र र पछिल्लो पटक गरिएको करार सम्झौता नवीकरणको छायाप्रतिसमेत अनिवार्य संलग्न हुनुपर्ने व्यवस्था गरिएको छ । आगामी फागुन १० भित्रमा मन्त्रालयको बजेट तथा कार्यक्रम शाखाको इमेलमा विवरण उपलब्ध मन्त्रालयले अनुरोध गरेको छ ।