• २३ माघ २०८२, शुक्रबार

झुटा सूचनाले समाजलाई विकृत बनाउँछ : नेता पौडेल

blog

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल । तस्बिरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, माघ २३ गते । पूर्व उपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले झुठा तथा भ्रमपूर्ण सूचनाको फैलावटले समाजमा गम्भीर विकृति पैदा गरिरहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल, रुपन्देहीद्वारा शुक्रबार आयोजित कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिमको उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले सामाजिक सञ्जाल झुटा सूचना फैलाउने प्रमुख माध्यम बन्दैगएको उल्लेख गर्नुभयो । यस्ता सूचनालाई नियन्त्रण गर्न पत्रकारहरू जिम्मेवार र सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

“समाजमा झुठा सूचनाको बिगबिगी बढ्दैगएको छ । सामाजिक सञ्जाल भ्रम फैलाउने प्लेटफर्मका रूपमा विकास भइरहेको छ” पौडेलले भन्नुभयो, “यसलाई समयमै रोक्न सकिएन भने समाज गम्भीर समस्यातर्फ धकेलिन सक्छ । झुटा र भ्रमपूर्ण सूचनाको रोकथाममा पत्रकारको भूमिका निर्णायक हुन्छ । प्रेस चौतारीले यसको अगुवाइ गरोस् भन्ने अपेक्षा छ ।”

विज्ञान र प्रविधिको तीव्र विकासले मानवीय जीवनमा ठुला परिवर्तन ल्याइरहेको उल्लेख गर्दै उहाँले प्रविधिको प्रयोग मानव हितका लागि हुनुपर्ने बताउनुभयो । प्रविधिको विकाससँगै विश्व साँघुरो बन्दैगएको भए पनि मानिस नै अन्तिम सत्य रहने उहाँको भनाइ छ ।

“प्रविधिले मान्छेको ज्ञान र विवेकलाई विस्थापित गर्न सक्दैन” उहाँले भन्नुभयो, “विज्ञानले दैनिकी सहज बनाएको छ, तर आफ्नै अस्तित्व समाप्त हुनेगरी प्रविधिको प्रयोग हुनु हुँदैन ।”

उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमा फैलिने झुटा सूचनाको पहिचान र नियन्त्रणमा पत्रकारहरूको भूमिका झनै महत्वपूर्ण हुने बताउँदै सत्य, तथ्य र जिम्मेवारीलाई केन्द्रमा राखेर प्रविधि प्रयोग गर्न आग्रह गर्नुभयो ।

प्रेस चौतारी नेपालको २८ औँ स्थापना दिवसको अवसरमा आयोजित तालिममा रुपन्देहीमा क्रियाशील बढी पत्रकारको सहभागिता रहेको थियो । तालिमका प्रशिक्षकमा गोरखापत्रका उपसम्पादक अजय शर्मा रहनुभएको थियो ।