• ४ वैशाख २०८३, शुक्रबार

गण्डकी गोपाल गौशालामा धार्मिक पूर्वाधार निर्माण सम्पन्न

blog

गौशालामा निर्माण गरिएका धार्मिक पूर्वाधार । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, वैशाख ४ गते ।
म्याग्दीको बेनीसँग नजिकै रहेको पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा अवस्थित गण्डकी गोपाल गौशालामा धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । गौशालालाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने लक्ष्यसहित संघीय र स्थानीय सरकारको संयुक्त लगानीमा करिब साढे चार करोड रुपियाँ बराबरका धार्मिक संरचना निर्माण गरिएको हो ।

गाउँपालिका र संघीय सरकारको ५०/५० प्रतिशत लागत साझेदारीमा आर्थिक वर्ष २०८०/८१ मा विनियोजित एक करोड २५ लाख ८५ हजार दुई सय ३२ रुपियाँ बजेटबाट धर्मशाला, हवनकुण्ड, कुटी, ध्यानकुटी, सभाहललगायतका संरचना निर्माण थालिएको थियो ।

त्यसैगरी करिब तीन करोड रुपैयाँ लागत अनुमान गरिएको आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकारको समपूरक अनुदानमार्फत गाउँपालिकाले ठेक्कामार्फत गौशालामा आश्रम स्थल, सभाहल, थप ध्यानकुटी र मन्दिर निर्माण कार्य अघि बढाएको थियो । सो योजना कार्यान्वयनका लागि सुनामी एस एण्ड एस जेभीसँग २०८२ असार १५ भित्र निर्माण सम्पन्न गर्ने गरी २०८१ पुस ४ गते दुई करोड २० लाख रुपियाँमा ठेक्का सम्झौता गरिएको थियो ।

योजनामार्फत तीन सयदेखि चार सय जना अटाउने सभाहल, मन्दिर, चारवटा ध्यान केन्द्र, सत्तल, हवनकुण्ड, परिसरमा ढुंगा छपाइ तथा शौचालय निर्माणलगायतका संरचना निर्माण सम्पन्न भएको गाउँपालिकाका इन्जिनियर सुनिल बानियाँले बताउनुभयो ।

उहाँका अनुसार निर्माण समयमै सम्पन्न नभएकाले १९ लाख ७० हजार रुपियाँ जरिवाना असुल गरी म्याद थप गरेर गत माघमा योजना सम्पन्न गरिएको हो ।

स्थानीय मौलिक गाईको संरक्षण गर्दै आएको गण्डकी गोपाल गौशाला क्षेत्रलाई तीर्थस्थल तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माण गरिएको गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्यले बताउनुभयो । सङ्घीय सरकारको बजेट फिर्ता भएकाले केही संरचना निर्माण बाँकी रहे पनि गाउँपालिकाबाट थप बजेट विनियोजन गरी काम पूरा गरिने उहाँको भनाइ छ ।

गौशाला, वराह शिवालय र प्रसिद्ध धार्मिक स्थल भुमेठाकुरलाई धार्मिक सर्किटका रूपमा जोडेर धार्मिक पर्यटन प्रवर्धन गर्ने योजना रहेको अध्यक्ष आचार्यले बताउनुभयो ।

२०७१ सालमा मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको संकल्पमा स्थानीयवासीको सक्रियतामा आठ वटा गाईबाट सुरु गरिएको गौशालामा हाल ५० भन्दा बढी गाई रहेका छन् । यसअघि गौ महोत्सव, प्रदेश सरकार तथा स्थानीय सरकारको बजेटबाट पनि केही संरचना निर्माण भइसकेका छन् । गौशालाको समग्र विकासका लागि करिब १२ करोड रुपियाँ बराबरको डीपीआर तयार पारिएको छ ।

गौशाला, वराह शिवालय, भुमेठाकुर हुँदै जलजला क्षेत्रलाई धार्मिक सर्किटका रूपमा विकास गर्ने योजना अनुसार विभिन्न स्थानमा पूर्वाधार निर्माण भइरहेको छ ।

गौशालामा व्यवस्थित पूर्वाधार विकास गरी प्रचारप्रसार गर्न सके मुक्तिनाथ दर्शनका लागि आउने भारतीय हिन्दु पर्यटकलाई समेत आकर्षित गर्न सकिने स्थानीयहरूको भनाइ छ । गौशाला बेनीबाट करिब एक घण्टा सवारीसाधन यात्रामा पुग्न सकिन्छ । यहाँबाट पर्वत, म्याग्दी र बागलुङका रमणीय दृश्यहरू अवलोकन गर्न सकिन्छ ।