• २३ माघ २०८२, शुक्रबार

बैतडीमा बस दुर्घटना : मृतकको सङ्ख्या १३ पुग्यो

blog

केशव राज भट्ट 
वाशुलिङ बैतडी, माघ २३ गते ।
बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुगेको छ । दुर्घटनामा ८ जनाको घटनास्थलमै र ५ जनाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।

बैतडीको पुर्चौडी नगरपालिका–७ भबनेबाट बझाङतर्फ बिहे लिएर फर्किदै गरेको पवनदूत यातायातको सुप प्र ०२–००१ ख १११९ नम्बरको जन्ती बोकेको बस बिहीबार बेलुका करिब ८ बजे पुर्चाैडी नगरपालिका–७ बडगाउँ मोडमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बस सडकबाट करिब २०० मिटर तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार दुर्घटनामा परेर घटनास्थलमै मृत्यु हुनेमा बझाङको बिथडचिर गाउँपालिका–७ का ४० वर्षीय केशव राज जोशी, सोही ठाउँका १३ वर्षीय अशोक रराज जोशी, ३५ वर्षीय बसन्त जोशी र ४६ वर्षीय किसन दत्त जोशी रहनुभएको छ ।

यस्तै, बझाङ केदारस्युँ गाउँपालिका–७ का ६० वर्षीय मोहन देव भट्ट, जयपृथ्वी नगरपालिका बझाङका ४० वर्षीय बसन्तराज रताला तथा बैतडी पुर्चाैडी नगरपालिका–७ की ४० वर्षीया पुष्पा अवस्थीको पनि घटनास्थलमै मृत्यु भएको छ ।

यसैगरी, उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु हुनेमा बझाङ बिथडचिर गाउँपालिका–७ का १७ वर्षीय किसनदत्त जोशी, सोही ठाउँका २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षीय किसनदत्त जोशी, बझाङ केदारस्युँ गाउँपालिका–७ का २७ वर्षीय केशव राज भट्ट र बैतडी पुर्चाैडी नगरपालिका–७ की १५ वर्षीया सुशिला जोशी रहनुभएको छ ।

दुर्घटनामा अन्य ३२ जना घाइते भएका छन् । घाइतेहरूको डडेल्धुरा, धनगढी र बझाङका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूको उद्धार नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासीको सहयोगमा गरिएको थियो ।

प्रारम्भिक अनुसन्धान अनुसार कच्ची तथा उकालो सडकमा अत्यधिक भार बोकेका कारण बस एक्कासी ब्याक भएर दुर्घटना भएको अनुमान गरिएको छ । बस चालक कञ्चनपुरको भीमदत्त नगरपालिका–७ का वीरन्द्र बुढा प्रहरी नियन्त्रणमा रहेका छन् । दुलहा–दुलही भने अर्काे सवारी साधनमा रहेकाले सुरक्षित रहेको प्रहरीले जनाएको छ ।