वासिङ्टन, माघ २० गते । अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनले मृत यौन अपराधी जेफ्री एपस्टेनसँग सम्बन्धित अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ्सको अनुसन्धानमा गवाही दिने सहमति जनाउनु भएको छ । पूर्वराष्ट्रपतिको प्रवक्ताले यो जानकारी दिँदै सम्भावित अवज्ञा सम्बन्धी मतदानको प्रक्रिया यससँगै रोकिने सङ्केत दिएका छन् ।
क्लिन्टन दम्पतीले यसअघि एपस्टेनसँग जोडिएको अघिल्लो अनुसन्धानलाई अधिकारीले कसरी सम्हालेका थिए भन्ने विषयमा सांसद सामु उपस्थित हुन अस्वीकार गर्नु भएको थियो । तर अब उहाँहरू गवाही दिन तयार भएको प्रवक्ता एन्जेल युरेनाले सामाजिक सञ्जाल एक्समा जानकारी दिनुभएको छ । उहाँका अनुसार पूर्वराष्ट्रपति र पूर्वविदेशमन्त्री दुवै उपस्थित भएर सबैमा लागु हुने उदाहरण स्थापित गर्न चाहनुहुन्छ ।
हाउस रुल्स कमिटीले सन् २०१९ मा हिरासतमा मृत्यु भएका एपस्टेनसँगको सम्बन्धबारे स्पष्टता दिन समनको अवहेलना गरेको आरोपमा क्लिन्टन विरुद्ध प्रस्ताव अघि बढाएको थियो । एपस्टेन प्रकरणले अमेरिकी राजनीतिमा अझै गहिरो प्रभाव पारिरहेको छ र यसले तीव्र पक्षपातपूर्ण बहसलाई पनि उजागर गरिरहेको छ ।
डेमोक्रेटका अनुसार यो अनुसन्धानलाई राष्ट्रपति डोनाल्ड ट्रम्पका राजनीतिक विरोधीलाई निशाना बनाउन प्रयोग गरिएको छ । उनीहरू ट्रम्प स्वयं लामो समयसम्म एपस्टेनसँग सम्बन्धित रहे पनि गवाहीका लागि नबोलाइएको दाबी गर्छन् । ट्रम्प र क्लिन्टन दुवै जनामाथि एपस्टेनका गतिविधिसँग सम्बन्धित कुनै पनि आपराधिक आरोप लगाइएको छैन ।
क्लिन्टन दम्पतीले यसअघि समन वैधानिक उद्देश्यविहीन भएको तर्क गर्नु भएको थियो । रिपब्लिकन भने बिल क्लिन्टनले सन् २००० को दशकको सुरुमा एपस्टेनको निजी विमान प्रयोग गरेकोलगायत विगतका सम्बन्धबारे शपथ अन्तर्गत प्रश्न गर्नुपर्ने बताउँदै आएका छन् । यसअघि क्लिन्टन दम्पतीले लिखित बयान बुझाउनु भएको थियो । बिल क्लिन्टनले मानवीय कामका सिलसिलामा एपस्टेनको विमान चढेको स्वीकार गरे पनि निजी टापु नपुगेको बताउनुभएको छ ।
हिलारी क्लिन्टनले एपस्टेनसँग कुनै अर्थपूर्ण सम्पर्क नभएको स्पष्ट गर्नुभएको छ । गवाही दिने सहमति भएपछि हाउस रुल्स कमिटीले अवज्ञा कार्यवाही सम्बन्धी मतदान स्थगित गरेको छ । यस विषयले कंग्रेसभित्र डेमोक्रेटबिच मतभेद देखिने सम्भावना पनि बढाएको छ । न्याय मन्त्रालयले गत हप्ता एपस्टेन अनुसन्धानसँग सम्बन्धित अन्तिम फाइल सार्वजनिक गरिएको जनाएको छ । रासस/एएफपी