• २० माघ २०८२, मङ्गलबार

निर्वाचनमा दुई हजारभन्दा बढी कर्मचारी परिचालन

blog

बाबुराम देवकाेटा

सिन्धुलीमाढी, माघ २० गते । सिन्धुली जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्न दुई हजारभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ । 

सिन्धुली जिल्लामा प्रतिनिधिसभा सदस्यको दुई वटा निर्वाचन क्षेत्र रहेको छ । दुई वटै निर्वाचन क्षेत्रमा गरी कुल १५१ मतदानस्थल र २७२ वटा मतदान केन्द्र रहेको छ । ती केन्द्रमा निर्वाचन सम्पन्न गर्न दुई हजार १७६ जना कर्मचारी परिचालन गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं. १ मा ७७ वटा मतदानस्थल र १३८ वटा मतदान केन्द्र रहेकाे छ । निर्वाचन सम्पन्न गर्न कम्तीमा पनि एक हजार १०४ कर्मचारी परिचालन गरिने छ । त्यस्तै निर्वाचन क्षेत्र नं. २ मा भने ७४ वटा मतदानस्थल र १३४ वटा मतदानकेन्द्र रहेको छ । यो क्षेत्रमा पनि निर्वाचन सम्पन्न गर्न कम्तीमा एक हजार ७२ जना कर्मचारी परिचालन गरिने छ ।

कार्यालय प्रमुख ईश्वरनाथ मिश्रले पाँच सयसम्म मतदाता रहेको एक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, चार जना सहायक कर्मचारी र दुई जना स्वयंसेवक गरी आठ जना कर्मचारी रहने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । त्यस्तै पाँच सयभन्दा बढी मतदाता रहेको मतदान केन्द्रमा अन्य कर्मचारी यथावत रही स्वयंसेवक थप एक जना रहने व्यवस्था रहेको उहाँको भनाइ छ ।

जिल्लास्थित विभिन्न सरकारी कार्यालय र स्थानीय तहमा कार्यरत कर्मचारी र शिक्षकलाई उक्त निर्वाचन सम्पन्न गर्न परिचालन गरिएको उक्त कार्यालयले जनाएको छ । उहाँका अनुसार नौ वटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा उक्त प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कुल मतदाता सङ्ख्या दुई लाख १५ हजार १९ जना रहेका छन् । ती मध्य नयाँ मतदाता सङ्ख्या छ हजार ६०४ रहेका छन् । निर्वाचन क्षेत्र नं. १ मा कुल मतदाता एक लाख १० हजार ३९१ र निर्बाचन क्षेत्र नं. २ मा कुल मतदाता एक लाख चार हजार ६२८ जना रहेका छन् । 

२०७९ साल मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा कुल दुई लाख आठ हजार ४१५ जना मतदाता रहेका कार्यालयले जनाएको छ ।

निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले मतदानस्थलाई तीन भागमा वर्गीकरण गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार उक्त निर्वाचनका लागि १५१ वटा मतदानस्थल र २७२ वटा मतदान केन्द्र प्रस्ताव गरि केन्द्र समक्ष सिफारिस गरिएको छ । 

जिल्लाभरिका मतदान स्थललाई सुरक्षाका दृष्टिले अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको छ । जस अनुसार अति संवेदनशील २५ वटा, संवेदनशील ६५ वटा र बाँकी सामान्य मतदानस्थल सूचीमा रहेका छन् ।