नेत्र शाही
जुम्ला, माघ २० गते । जुम्लामा मतदानस्थल अनुगमन तीव्र पारिएको छ । जिल्ला निर्वाचन तथा सुरक्षा समितिको टोलीले जुम्लाका मतदानस्थल अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।
प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुुसार जिल्ला ११० मतदान केन्द्र मध्ये ५० प्रतिशत अनुगमन गरिएको हो । उहाँका अनुसार अनुगमनको क्रममा मतदान केन्द्रको भौतिक पूर्वाधार अवलोकन गरि तयारी गर्न पनि अगाडि बढाइएको छ । खानेपानी, बिजुली सहितका आधारभूत विषयहरुको व्यवस्थापनका लागि स्थानीय तहसँगको बैठक सम्पन्न गरिएको छ । यसैगरी मतदान केन्द्र र मतदानस्थलमा देखिएको समस्या समाधानको लागि स्थानीयतहसँग आग्रह गरिरहेका छौं । ‘निर्वाचनलाई शान्तिपूर्ण बनाउन मतदानस्थलको अनुगमनदेखि सुरक्षाकर्मीको परिचालन तथा तयारी तीव्र पारिएको प्रजिअ पौडेलले जानकारी दिनुभयो ।
६४ वटा मतदान केन्द्र अतिसंवेदनशील
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ६४ वटा मतदान केन्द्र अतिसंवेदनशील रहेका छन् । जिल्ला सुरक्षा समितिले जिल्लाका एक सय १० मतदान केन्द्र मध्ये ६४ वटा मतदान केन्द्र अतिसंवेदनशील रहेका छन् । प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार जुम्लाका ५२ वटा मतदानस्थल र ६४ वटा मतदान केन्द्र अतिसंवेदनशील सुचिमा राखिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार कुल ८५ वटा मतदानस्थल रहेको जुम्लामा ५२ वटा अतिसंवेदनशील, १८ वटा संवेदनशील र १५ वटा सामान्य रहेका छन् । ११० मतदान केन्द्र रहेकोमा ६४ वटा अति संवेदनशील, २५ वटा संवेदनशील र २१ वटा मतदान केन्द्र सामान्य रहेका छन् ।
प्रजिअ पौडेलले भौगोलिक विकटता, सञ्चारको पहुँच अभाव, केन्द्रको भौतिक संरचना, सडक सञ्जालको पहुँच, खानेपानी र बिजुली व्यवस्था लगायतका सुरक्षा चुनौतीका आधारमा मतदानस्थल र मतदान केन्द्रको वर्गीकरण गरिएको छ ।
प्रहरी नायव उपरीक्षक रविनबाबु रेग्मीका अनुसार ‘मतदानस्थल शान्तिपूर्ण र भयरहित बनाउन भरपुर पहल भइरहेको छ ।’ जिल्लाका करिब ५० प्रतिशत मतदान केन्द्र अनुगमन सकिएको छ । जुम्ला जिल्लामा यस पटक मतदाता सङ्ख्या ७१ हजार सात सय ३९ जना छ । जसमा महिला मतदाता तर्फ ३४ हजार दुईसय ८० जना र पुरुष मतदातातर्फ ३७ हजार चार ५९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना र निर्वाचन प्रहरी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलले थप्नुभयो ।