• ११ मंसिर २०८१, मङ्गलबार

अङ्गदानलाई प्रभावकारी बनाउन जरुरी

blog

काठमाडौँ, असार ३२ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले अङ्गदानसम्बन्धी व्यवस्थालाई प्रभावकारी बनाउन जनचेतना अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस इन्स्टिच्युटको आयोजना शुक्रबार राजधानीमा आयोजित ‘मस्तिष्क मृत्यु, अङ्गदान तथा प्रत्यारोपण’ विषायक अन्तक्र्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले अङ्गदान र मस्तिष्क मृत्युसम्बन्धी यथेष्ट चेतना नभई मानिसले ब्रेनडेथ भएकाको अङ्ग अन्य व्यक्तिमा प्रत्यारोपण गर्न कठिन हुने बताउनुभयो । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले अङ्गदानलाई मिर्गौलामा मात्र केन्द्रित गर्न नहुने बताउनुभयो ।

कार्यक्रममा पत्रकार कपिल काफ्लेले मूलधारका दैनिकले स्वास्थ्य, अङ्गदा तथा मस्तिष्क मृत्युलाई जनचेनामार्फत अघि बढाउन सक्नुपर्ने बताउनुभयो । पत्रकार भैरव रिसाल, ध्रुवहरि अधिकारी, राजेन्द्र दाहाललगायतले अङ्गदानसम्बन्धी कानुनको सबैले सेवा पाउनुपर्ने बताउनुभयो । गोरखापत्र दैनिकका प्रबन्ध सम्पादक जुनारबाबु बस्नेतले स्वास्थ्य सञ्चार नीति राम्रो भएमा मात्र स्वास्थ्यका विषयले प्राथमिकता पाउने बताउनुभयो । 

उहाँले गोरखापत्रले स्वास्थ्यका विषयलाई प्राथमिकता दिएको बताउनुभएको थियो । नेपालमा मस्तिष्क मृत्यु (ब्रेनडेथ) भएका व्यक्तिको अङ्ग प्रत्यारोपण सोचिएअनुरूप प्रभावकारी हुन सकेको छैन । सरकारले २०७३ सालमा ब्रेनडेथ भएकाहरूको अङ्ग अन्य व्यक्तिलाई प्रत्यारोपण गर्न पाउने कानुनी व्यवस्था गरेको थियो । 

भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका अनुसार ब्रेन डेथ भएका व्यक्तिबाट आठ जनाको मिर्गौला र दुई जनाको कलेजो प्रत्यारोपण गरिएको छ । अङ्गदानसम्बन्धी जनचेतनाको अभावमा ब्रेनडेथ भएकाहरूबाट अरू व्यक्तिमा अङ्ग प्रत्यारोपण हुन नसकेको हो ।