• ३ असार २०८२, मङ्गलबार

कृषकलाई मौरी र कुखुराका चल्ला वितरण

blog

कृषकलाई मौरीको घार र चल्ला वितरण गरिदै ।

बिन्दु थापा

तानसेन, असार ३ गते । बन्दिपोखरा पाल्पाका किसानलाई मौरी र लोकल कुखुराका चल्ला वितरण गरिएको छ। किसानलाई आत्मनिर्भर गराउने उद्देश्यसहित गोलासहितको मौरी घार र लोकल कुखुराको चल्ला वितरण गरिएको तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । 

विकास पर्यटन र कृषिबाट सम्भव रहेकाले कृषिभूमिको अधिक्तम सदुपयोग गर्न समय आएको श्रेष्ठले बताउनुभयो । कृषिलाई उन्नत कसरी गराउन तानसेन योजनावद्द रुपमा अगाडि बढेको उहाँको भनाइ छ ।

तानसेन नगरपालिका नगर उपप्रमुख प्रतिक्षा गाहा सिञ्जालीले अनुदानमा पाएका वस्तुलाई संरक्षण गर्न किसानले जिम्मेवारीबोध गर्नुपर्ने बताउनुभयो । कृषिको माध्यमबाट देशलाई आत्मनिर्भर बनाउन कृषकको ध्यान पुग्नुपर्ने उपप्रमुख प्रतिक्षा गाहाको भनाइ छ । 

तानसेन नगरपालिकाका वरिष्ठ अधिकृत दुर्गाबहादुर थापाले आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्न कार्यक्रम फलदायी बन्ने बताउनुभयो। उहाँले वैकल्पिक खेती गरे जञ्गली जनावरबाट पार पाउन सकिने बताउनुभयो ।

रेडा पाल्पाका निर्देशक लिलाबहादुर कार्कीले आयआर्जन वृद्धि र सामाजिक सशक्तिकरण गर्न किसानमुखी काम गरिएको बताउनुभयो । उहाँले टोल र बस्तिका सम्भावना तथा अवसरखोजी गर्दै समूहको माध्यमबाट अभियान सुरु गरिएको बताउनुभयो।

तानसेन नगरपालिका ११ का वडा अध्यक्ष एवम् प्रवक्ता यादवसिंह कार्कीका अनुसार २२ घार र ५ हजार चल्ला वितरण गरिएको छ । तानसेन आर्थिक विकास परियोजना अन्तर्गत हेफर नेपालको प्राविधिक सहयोग, तानसेन नगरपालिकाको आर्थिक सहयोग र रेडा पाल्पाको सहजीकरणमा कार्यक्रम गरिएको कार्कीले जानकारी दिनुभयो। हेफरले चालु आर्थिक वर्षमा ६६ लाख रुपियाँबाट कृषकमुखी काम गर्दैआएको छ ।