विनय कर्ण
कल्याणपुर (सप्तरी), असार ३ गते । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको भन्दै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका तत्कालीन सब–इन्जिनियरमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सब–इन्जिनियर दीपेन्द्रकुमार झा भनिने दीपेन्द्रकुमारमाथि विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको हो ।
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी झाले करार पदमा जागिर खाएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आयोगमा परेको उजुरीमाथि अनुसन्धान हुँदा शैक्षिक प्रमाणपत्र नक्कली देखिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताउनुभयो ।
झाले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका इन्स्टिच्युट अफ इन्जिनिरिङ वेस्टर्न रिजन कलेज, लामाचाैर पोखराबाट डिप्लोमा इन सिभिल इन्जिनियरिङ उत्तीर्ण गरेको भनी नक्कली प्रमाणपत्र पेस गरेर गाउँपालिकामा नियुक्ति पाएको अख्तियारले जनाएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कसुर गरेकोले सोही ऐन अनुसार कैद र जरिवाना सजाय मागदाबी लिइएको अख्तियारले जनाएको छ ।