• ३ असार २०८२, मङ्गलबार

विपत् पूर्वअभ्यास, खोज तथा उद्धारमा प्राचार्यसँगै विद्यार्थी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ३ गते । बिहान ८:३० बजे विद्यार्थी र शिक्षक नियमित प्रार्थनापछि कक्षाकोठामा मात्र प्रवेश गरेका थिए । त्यसैबेला एक्कासि आएको शक्तिशाली भूकम्पले विद्यार्थी भयभीत हुँदै तितरबितर हुन थाले । भूकम्पसँगै सबै कक्षाकोठामा रातो साइरनसहित खतराको घण्टीसँगै अधिकांश विद्यार्थी किताबसहितको झोला टाउकोमाथि राखेर विद्यालयको मैदानमा निस्किए । 

करिब ६५० भन्दा बढी विद्यार्थी अध्ययत रहेको विद्यालयको भवन क्षतिग्रस्त हुँदा कक्षा ८ र ९ मा अध्ययनरत दुई जना विद्यार्थी कक्षाकोठामै अड्किए । विद्यालयका प्राचार्य ए जेराल्ड अत्तालिँदै भूकम्पमा फसेका विद्यार्थीको उद्धारका लागि विपत् व्यवस्थापन टोलीलाई खबर गरी शिक्षकसँगै विद्यार्थीलाई थप सुरक्षित स्थानतर्फ लैजान थाल्नुभयो । परकम्पको पाँच मिनेटमै खोज तथा उद्धार टोली परिचालन भई फसेका विद्यार्थीलाई डोरीको सहाराले विद्यालयको मैदानमा ओरालिदिए । भूकम्पको सन्नाटाबिच फसेका विद्यार्थी सकुशल उद्धारसँगै तालीको गडगडाहट र छाएको खुसियालीको कुनै सीमा नै रहेन । 

वास्तविक जस्तै देखिएको यो दृश्य सोमबार बिहान काठमाडौँको लैनचौरस्थित केन्द्रीय विद्यालयमा आयोजना गरिएको भूकम्पीय सुरक्षा पूर्वअभ्यास ‘अर्थक्वेक ड्रिल’ हो । भूकम्पीय जोखिमबाट बच्न विद्यालयस्तरमा नै जनचेतना जगाउन र स्वयम् विद्यार्थीलाई र शिक्षकलाई अभ्यस्त बनाउन नेपालस्थित भारतीय दूतावासले विद्यालय परिसरमै पूर्वअभ्यास गराएको हो । 

विद्यालयका प्राचार्य ए जेराल्ड भूकम्प, आगलागी, दुर्घटना जस्ता भवितव्यबाट जोगिन र खोज तथा उद्धारमा अपनाइने सुरक्षाबारे विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले प्रत्येक वर्ष यस्तो आयोजना गरिँदै आएको बताउनुभयो । जेराल्डले भन्नुभयो, “भूकम्पीय दृष्टिले हामी संवेदनशील ठाउँमा छौँ, त्यसैले यसबाट कसरी बच्ने र बचाउने भन्नेबारे विद्यार्थीकै प्रत्यक्ष सहभागीमा पूर्वअभ्यास गरिएको हो ।” 

उहाँले भूकम्प, आगालागी महामारीबाट जोगिन अपनाइने पूर्वअभ्यास विद्यालयले नियमित गर्दै आएको र छात्राका लागि आत्मरक्षा तालिम दिने तयारी पनि भइरहेको बताउनुभयो । उक्त पूर्वअभ्यास तालिमका प्रशिक्षक आदेशकुमार सैनीले भूकम्पलगायतका विपत्तिमा टाउको जोगाउन सके मानवीय क्षति कम गर्न सकिने भएकाले सोही अनुसारको पूर्वअभ्यास दिइने गरेको बताउनुभयो । भूकम्प वा अन्य कारणले भवनका संरचना भत्किए वा क्षतिग्रस्त हुँदा खसेका वस्तुले टाउकोमा लाग्यो भने मानिसको मृत्यु हुने वा गम्भीर बिरामी हुने सम्भावना रहन्छ । यस्तो बेला शरीरको मुख्य भाग टाउको जोगाउन सके क्षति कम हुने अर्का प्रशिक्षक राजशेखर बताउनुहुन्छ । 

पूर्वअभ्यासमा प्रशिक्षकसहित १२ जना उद्धार टोलीको सहभागिता रहेको थियो । सो क्रममा उद्धार टोलीले भवनमा फसेका विद्यार्थीको उद्धारको प्रत्यक्ष प्रदर्शन गरे । खोज तथा उद्धारमा विद्यालयका प्राचार्य ए जेराल्डसहित विद्यालयका शिक्षक चिकित्सक, स्वयंसेवक विद्यार्थीलगायत कर्मचारीको समेत सहभागिता रहेको थियो । कक्षा १ देखि १२ कक्षासम्मका विद्यार्थी सहभागी रहेको सो पूर्वअभ्यास अत्यन्तै जानकारीमूलक रहेको भन्दै विद्यार्थीले खुसी व्यक्त गरे । कक्षा १२ मा अध्ययनरत छात्रा कोहिनुर अग्रवालले उक्त पूर्वअभ्यास अत्यन्तै जानकारीमूलक र शिक्षाप्रद रहेको बताउनुभयो ।