रवीन्द्र उप्रेती
बर्दिवास, माघ १९ गते । प्रतिनिधिसभा निर्वाचनका लागि छनोटमा परेका निर्वाचन प्रहरीको तालिम सोमबार बिहान ७ बजेदेखि सुरु भएको छ । खुला आवेदन प्रक्रियामार्फत परेका पाँच हजारभन्दा बढी आवेदकमध्ये छनोटमा परेका साढे तीन हजार बढीलाई तालिममा सहभाागी गराइएको हो ।
जिल्लामा ७५५ महिलासहित पाँच हजार ३५९ जनाले आवेदन दिएकोमा तीन हजार ८७६ जना उत्तीर्ण भएको सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण छिन्नमस्ता बाहिनी जलसागरका एसपी शेरबहादुर अधिकारीले जानकारी दिनुभयो । उत्तीर्णमध्ये ४२९ जनालाई सशस्त्र प्रहरीतर्फ र महिलासहित तीन हजार ४४७ जनालाई नेपाल प्रहरीतर्फ वर्गीकरण गरी निर्वाचन प्रहरी पाठ्यक्रमअनुसार आन्तरिक तथा बाह्य प्रशिक्षण सुरु गरिएको उहाँले बताउनुभयो ।
एसपी अधिकारीका अनुसार सशस्त्र प्रहरीतर्फका ४२९ निर्वाचन प्रहरीलाई सुविधा अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय तथा नं. ३९ रिजर्भ गण बर्दीबास र नं. ९ छिन्नमस्ता गण जलसागरमा सहभागी गराइएको छ ।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी शैलेन्द्र भट्टले नेपाल प्रहरीतर्फका तीन हजार ४४७ निर्वाचन प्रहरीलाई जिल्ला प्रहरी कार्यालय तथा मातहतका बर्दिवास, गौशाला, रामगोपालपुर, बलवा र पिपरामा गरी पाँच स्थानमा एकैसाथ तालिम सुरु गरिएको जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी हेरम्ब शर्माले बर्दिवास ३ स्थित गौरीडाँडा खुलामञ्चमा तालिमको उद्घाटन गदै निर्वाचन प्रहरीको भूमिका राष्ट्रिय दायित्व र समाजसेवासँग जोडिएको उल्लेख गर्नुभयो । उहाँले निर्वाचन प्रहरीलाई कसैको प्रभाव, बहकाव वा प्रलोभनमा नपरी इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो ।
यसैबिच इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी विकास वमका अनुसार बर्दीवासमा २५९ महिलासहित ७६३ निर्वाचन प्रहरी तालिममा सहभागी गराइएको छ ।