• १९ माघ २०८२, सोमबार

बैतडीमा चार प्रमुख दलबिच कडा प्रतिस्पर्धा

blog

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा चुनावी मैदानमा उत्रिएका मुख्य दलका नेताहरु ।

केशव राज भट्ट 
वाशुलिङ बैतडी, माघ १९ गते ।
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा ११ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । यहाँ कोही आफ्नो राजनीतिक विरासत जोगाउने प्रयासमा छन् भने कोही पुरानो विरासत भत्काउने रणनीतिसहित मतदातासमक्ष पुगेका छन् ।

बैतडीमा यसपटक नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादीबाट आएको नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबबच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । उम्मेदवारहरूले जिल्लाको समग्र विकास, सुशासन र जन अपेक्षा अनुसारको नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गत निर्वाचनमा ३३ हजार ६ सय ११ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेकपा एमालेका नेता दामोदर भण्डारी चौथोपटक चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । भण्डारी २०७० सालको दोस्रो संविधानसभा तथा २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचन जितेका अनुभवी नेता हुनुहुन्छ । उनी एक पटक अर्थराज्यमन्त्री तथा तीन पटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भइसक्नुभएको छ ।

उहाँ आफ्नो राजनीतिक विरासत कायम राख्ने प्रयासमा देखिनुभएको छ भने अन्य उम्मेदवारहरू उक्त विरासत तोड्ने उद्देश्यसहित मैदानमा छन् ।

कांग्रेसले यसपटक नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा कांग्रेस बैतडीका सभापति चतुर बहादुर चन्दलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । चन्द र भण्डारीबिच पहिलोपटक प्रत्यक्ष चुनावी प्रतिस्पर्धा हुँदैछ ।

क्यानको नेतृत्व गर्दै नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सफल चन्द लोकप्रीय छविका नेता मानिनुहुन्छ । २०४७ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका चन्द शिक्षक संघ बैतडीको अध्यक्ष हुँदै कांग्रेस बैतडीको सभापति बन्नुभएको हो । उहाँ शिक्षक पेशाबाट राजीनामा दिएर पूर्णरूपमा राजनीतिमा सक्रिय हुनुभएको हो ।

‘‘जिल्लाको समग्र विकास, युवालाई अवसर र सुशासन स्थापनाका लागि उम्मेदवारी दिएको हुँ,’’ चन्दले भन्नुभयो, ‘‘धेरै आश्वासन होइन, काम गरेर देखाउने मेरो प्रतिबद्धता हो ।’’ क्यानमा देखाएको नेतृत्व क्षमता र परिणाममुखी कार्यशैलीलाई राजनीतिमा पनि लागू गर्ने उहाँको दाबी छ । चन्द यस निर्वाचनमा कांग्रेसको पुरानो साख फर्काउने दाउमा देखिनुभको छ ।

त्यस्तै, नेकपाले पूर्व जिल्ला सभापति परमानन्द भट्टलाई पहिलो पटक उम्मेदवार बनाएको छ । तत्कालीन एमालेका संस्थापक नेता रहेका भट्ट पछिल्लो समय एकीकृत समाजवादी हुँदै नेकपाबाट चुनावी मैदानमा उत्रिनुभएको हो । उहाँ पनि बैतडीको विकास निर्माण र सुशासन लाई प्रमुख एजेन्डा बनाएको बताउनुहुन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस परित्याग गरेका हरिमोहन भण्डारीलाई उम्मेदवार बनाएको छ । उहाँ २०७९ को निर्वाचनमा स्वतन्त्रबाट चुनाव लड्भएको थियो । नयाँ सोच र भिजनसहित वैकल्पिक शक्तिका रूपमा आफुहरू आएको उहाँकबो भनाइ छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दका छोरा भुपेन्द्र चन्दसहित अन्य उम्मेदवारहरू पनि मैदानमा हुनुहुन्छ । यधपी  संगठनात्मक अवस्था कमजोर रहेकाले मुख्य चार दलबीच नै प्रतिस्पर्धा हुने नागरिक अगुवाहरु बताउँछन् । मतदाताले अब ठूला आश्वासन भन्दा पनि व्यवहारिक र परिणाम देखिने नेतृत्व खोजिरहेका स्थानीयहरुले बताएका छन् ।