बुटवल समाचारदाता
बुटवल, माघ १९ गते । रुपन्देहीको निर्वाचन क्षेत्र नं. ३ मा बहुपक्षीय भिडन्त हुने भएको छ । लामो समयदेखि राप्रपाको पकड रहेको यो क्षेत्रमा यस पटक नेपाली कांग्रेस, नेकपा (एमाले), रास्वपा, नेकपालगायत दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । यो क्षेत्रमा राप्रपाको दीपक बोहोराले लामो समय राजनीति गरेका थिए ।
बोहोराका निधनपश्चात् राप्रपाले यही क्षेत्रबाट सहानुभूतिको मत पाएर विजयी हुने दाउमा दीपक बोहोराका पुत्र गौरव बोहोरालाई उम्मेदवार बनाएको छ । यो निर्वाचन क्षेत्रमा सबै राजनीतिक दलले नयाँ उम्मेदवार मैदानमा उतारेका छन् । कांग्रेसले नयाँ अनुहार सुशील गुरुङलाई उम्मेदवार बनाएको छ भने एमालेले वासुदेव घिमिरेलाई उम्मेदवार बनाएको छ । घिमिरे यसअघि रुपन्देही–५ बाट सङ्घीय
संसद्मा निर्वाचित हुनुभएको थियो । उहाँले यस पटक क्षेत्र परिवर्तन गरी रुपन्देही–३ बाट चुनावी मैदानमा उत्रिनुभएको छ ।
घिमिरे २०७४ को स्थानीय तहको निर्वाचनमा तिलोत्तमा नगरपालिका रुपन्देहीको नगरप्रमुखमा निर्वाचित हुनुभएको थियो । यो क्षेत्रमा रास्वपाले डा. लेखजङ्ग थापालाई उम्मेदवार बनाएको छ । त्यसै गरी नेपाली कम्युनिस्ट पार्टीबाट फैज अहमद खाँ र जसपा नेपालबाट श्रीनिवास यादव उम्मेदवार बन्नुभएको छ । मधेशी समुदायको बाहुल्यसमेत रहेको यो क्षेत्रमा जसपाले समेत राम्रो मत ल्याउने दाबी जसपाका उम्मेदवार श्रीनिवास यादवले गर्नुभएको छ । यस पटक रुपन्देही–३ को निर्वाचनको मैदानमा पाइलटदेखि डाक्टरसम्म र पेसा व्यवसायमा सफल भएका अनुहार होमिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीका अनुसार रुपन्देही–३ मा विभिन्न दल र स्वतन्त्र गरी ३६ जनाको उम्मेदवारी परेको छ । एक लाख चार हजार ३५ मतदाता रहेको यो क्षेत्रमा राप्रपालाई विगतदेखिको आफ्नो पकड जोगाउने चुनौती छ भने अरू दलले राप्रपाको पकड फुत्काउने कसरतमा छन् । अहिले सबै उम्मेदवारले चुनावी अभियान सुरु गरेका छन् । यस पटक पनि दलका उम्मेदवारहरूको मुख्य नारा उही विकासको मुद्दा रहेको छ ।