जयमान बुढामगर
रुकुमपूर्व, माघ १९ गते । आगामी फागुन २१ गते हुन गइराखेको प्रतिनिधिसभा निर्वाचनका लागि रुकुमपूर्वको जिल्ला सुरक्षा समितिले अनुगमन तीव्र पारेको छ । जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सीता परियारको नेतृत्वमा जिल्लास्थित मतदानस्थलको अनुगमन गरिराखेको हो ।
मतदानस्थलको अवस्थाबारे सूक्ष्म तवरबाट बुझ्न जिल्ला सुरक्षा समितिले अनुगमन तथा निरीक्षण गरिराखेकोे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक लालबहादुर विकले जानकारी दिनुभयो । जिल्ला सुरक्षा समितिले मतदान स्थलको भौगोलिक अवस्था, सुरक्षा चुनौतीको अवस्था, यातायात सुविधा, नागरिकलाई मतदान गर्न आउँदाको सहजता, अपाङ्गमैत्री व्यवस्था, सञ्चार सुविधा तथा आपतकालीन व्यवस्थापनको अवस्था स्थलगत अनुगमन गरिराखिएको प्रवक्ता विकले बताउनुभयो । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित गर्ने उद्देश्यले मतदानस्थलको अनुगमन गरिराखिएको उहाँले बताउनुभयो ।
जिल्लामा पुरुष मतदाता १७ हजार पाँच सय ८२ जना र महिला मतदाता १७ हजार एक सय ९० जना गरी जम्मा ३४ हजार सात सय ७२ जना मतदाता छन् । २०७९ को निर्वाचनमा यस जिल्लामा ३४ हजार एक सय १२ जना मतदाता रहेकोमा यस पटक ६ सय ६० जना मतदाता थपिएका हुन् ।
यस जिल्लामा मतदानस्थल ४४ र मतदान केन्द्र ५६ वटा रहेको छ । जसमध्ये ३४ मतदानस्थल अति संवेदनशील, सात संवेदनशील र तीन सामान्य संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।