सन्तोष दहित
दाङ, माघ १९ गते । जिल्ला प्रहरी कार्यालय दाङले निर्वाचन प्रहरीको वैकल्पिक सूचिमा रहेका उम्मेदवारहरूलाई सम्पर्कमा आउन सूचना जारी गरेको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्वीकृत कोटा अनुसार सबै प्रक्रिया पूरा गरी यसअघि दुई हजार चार सय १५ जनाको नाम छनोट गरी तालिममा सहभागी गराइसकिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
थप निर्वाचन प्रहरीको आवश्यकता परेकाले वैकल्पिक सूचिमा रहेका ४३ जनालाई सम्पर्कमा आउन सूचना जारी गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रमेश बोहराले जानकारी दिनुभयो । वैकल्पिक सूचिमा रहेका ३५ जना पुरुष र ८ जना महिलालाई माघ १९ गते बिहान ९ बजेभित्र सक्कली कागजातसहित नियुक्तिका लागि उपस्थित हुन आग्रह गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङ तथा सशस्त्र प्रहरी बल, नेपाल नं. २९ गण ज्वालामाई भालुबाङ दाङका लागि स्वीकृत कोटा अनुसार निर्वाचन प्रहरीका लागि आवेदन दिएका उम्मेदवारहरूमध्ये भर्ना छनोट प्रक्रियाबाट दुई हजार चार सय १५ जनालाई छनोट गरी तालिममा सहभागी गराइसकिएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो ।