विनय कर्ण
कल्याणपुर (सप्तरी), माघ १९ गते । राजविराज नगरपालिका वडा नम्बर ९ मलेठका ८२ वर्षीय रामजी राम अहिले पनि नागरिकता पाउने आशामा बाँचिरहनुभएको छ । नागरिकता नै नपाउँदा उहाँ हालसम्म सामाजिक सुरक्षा भत्ता पाउनबाट समेत बञ्चित रहनुभएको हो ।
स्थानीयस्तरमा कुनै रोजगारी नपाउँदा परिवार र आफ्नो छाँक टार्न रामजी लामो समय भारतको पंजामा श्रमिकको रुपमा काम गरिरहँदा समयमै भने नागरिकता बनाउन सक्नुभएन ।
अहिले दुवै आँखाले हेर्ने नसकिने अवस्थामा पुग्नु भएका रामजीका छोरा बुहारीले २०६३ सालमा आएको टोली मार्फत् नागरिकता पाउनु भएको थियो ।
त्यतीबेला उहाँको पनि नागरिकता बनाउने प्रकृया सुरु भएको थियो, तर बीचमै सेलायो “नागरिकता भए खुशी हुन्थें“ रामजी भन्नुहुन्छ ।
रामजीको आँखा झण्डै २५ वर्षदेखि देखिरहेका छैनन् । “विस्तारै आँखाको ज्योती कम हुँदै गयो, चिकित्सकसँग जाँच गराउँदा औषधी दिँदा ठीक हुन्छ, भन्थ्यो । तर औषधीले काम गरेन“ उहाँले भन्नुभयो, “एक दिन एकै पटक दुबै आँखाको ज्योति गुम्यो ।’’
युवा अवस्थादेखि नै भारतको पंजाब गएर श्रम गर्दै आउनु भएका उहाँको त्यहीं नै आँखा कमजोर हुँदै गएको थियो । “यस्तो अनुभूति भएपछि धेरै चिकित्सकसँग जाँच गराएँ, चिकित्सकले काला मोतियाबिन्द भएको छ भन्दै औषधी दियो, तर ठीक भएन’’ उहाँ भन्नुहुन्छ ।
२०६६/०६७ सालमा स्नातकमा नाम लेखाएर पढ्न सुरु गर्नुभएका उहाँ आँखाकै कारण स्नातकको पढाई पूरा गर्न सक्नु भएन ।
लहानस्थित सगरमाथा आँखा अस्पताल लगेर जाँच गराउँदा पनि ठीक नभएको उहाँका बुहारी फुलो देवीले बताउनुभयो ।चिकित्सकले दुबै आँखाको नशा सुकिसकेको र अब ठीक नहुने बताएपछि घरमै ल्याएर राखेको उहाँले सुनाउनुभयो । नागरिकता पाउने आशामा रहनुभएका रामजी भन्नुहुन्छ, “अब कति नै बाँच्छु र ? ‘नागरिकता पाए अभिलाषा पूरा हुन्थ्यो ।’’