प्रतीक इच्छुक शर्मा
सल्यान, माघ १९ गते । मुख्य निर्वाचन अधिकृतको कार्यालय, सल्यानले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लागू निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न दुई जना अनुगमन अधिकृत तोकेको छ ।
कार्यालयका प्रमुख निर्वाचन अधिकृत प्रल्हादकुमार योगीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द शर्मा र कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक उदय डाँगीलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी दिइएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी शर्मालाई आर्थिक विषयबाहेकका निर्वाचन आचारसंहिता सम्बन्धी गतिविधिको अनुगमन तथा कारबाही गर्ने जिम्मेवारी दिइएको छ भने कोष नियन्त्रक डाँगीलाई राजनीतिक वित्त तथा निर्वाचन खर्चसँग सम्बन्धित विषयको अनुगमन गर्ने अधिकार प्रदान गरिएको कार्यालयले जनाएको छ ।
अनुगमन अधिकृतहरूले राजनीतिक दल, उम्मेदवार, भ्रातृ संगठन तथा सञ्चारमाध्यमले निर्वाचन आचारसंहिता पालना गरे–नगरेको विषयमा निगरानी गर्नेछन् । आचारसंहिता उल्लङ्घन भएको पाइएमा कारबाही गर्न सक्ने अधिकार समेत उनीहरूलाई रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
आचारसंहिता अनुसार जुलुस, आमसभा तथा प्रचारप्रसारमा सहभागी व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अंकित क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, स्टिकर वा लोगो प्रयोग गरे–नगरेको, पोस्टर, भित्तेलेखन, तुल तथा डिजिटल डिस्प्ले प्रयोग भए–नभएको, सवारी साधनको दुरुपयोग भए–नभएको विषयमा समेत अनुगमन गरिनेछ ।
त्यसैगरी, घोषणापत्र सार्वजनिक गरिएको वा नगरेको, निर्वाचन प्रचारका लागि सरकारी, सार्वजनिक वा गैरसरकारी संस्थाबाट आर्थिक सहयोग लिइएको वा नलिइएको, निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोलेर खर्च व्यवस्थापन गरिएको वा नगरेको विषयमा समेत अनुगमन गरिने जनाइएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वासनीय रूपमा सम्पन्न गर्न निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको हो। आचारसंहिता माघ ४ गतेदेखि लागू भइसकेको छ ।
सल्यान जिल्लाबाट एक प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार केशबहादुर विष्ट, नेकपा (एमाले) का उम्मेदवार गुलाबजङ्ग शाह, नेपाली कम्युनिस्ट पार्टीका रमेश मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीका ललित चन्द, राष्ट्रिय प्रजातन्त्र पार्टीकी अनिशा नेपाली, नेकपा (माओवादी ) का उम्मेदवार चन्द्रबहादुर खड्का ‘असल’, मजदुर किसान पार्टीबाट लालबहादुर थापा, नेसनल रिपब्लिकन नेपालबाट डिल्लीबहादुर घर्ती, संयुक्त नागरिक पार्टीबाट कालीदास विक, राष्ट्रिय जनमोर्चाबाट कमला डाँगी, मङ्गोल नेसनल अर्गनाइजेसनबाट बालसिंह घर्ती तथा श्रम संस्कृतिबाट धनबहादुर बुढा,स्वतन्त्र उम्मेदवारहरू ध्रुवराज वली र जुद्धबहादुर सिंहसहित विभिन्न दल तथा स्वतन्त्र गरी १४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।