गोरखापत्र समाचारदाता
ललितपुर, माघ १९ गते । प्रतिनिधि सभा निर्वाचनको तयारीका क्रममा ललितपुरमा पनि विभिन्न दल र स्वतन्त्र उम्मेदवार मतदातामाझ पुगिरहेका छन् । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ललितपुरका तीन वटा क्षेत्रमा उम्मेदवारी दिएका ७१ उम्मेदवार मतदातालाई आफ्नो मुद्दा बुझाउन व्यस्त छन् ।
ललितपुरमा डेढ दर्जन दल र अन्य स्वतन्त्र उम्मेदवार मनोनयन दर्ता गरेर चुनावी मैदानमा छन् । ललितपुर क्षेत्र नं. १ मा २८, क्षेत्र नं. २ मा २३ र क्षेत्र नं. ३ मा २० जनाले उम्मेदवारी दिएका छन् । तर मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिच हुने देखिन्छ । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले तत्कालीन नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र हालको नेपाली कम्युनिस्ट पार्टीसँग गठबन्धन गरेको थियो तर यस पटक सबै दलले आफ्नो जनमत परीक्षण गर्ने छन् । कांग्रेसका सहमहामन्त्री एवं ललितपुर क्षेत्र नं. १ का उम्मेदवार उदयशमशेर राणाले ललितपुरमा पूर्वाधारको विकास एवं रोजगारी सिर्जनाका मुद्दा नागरिकका माग र आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो ।
उहाँले २०७० कै निर्वाचनमा कान्ति लोकपथलाई साधारण सडकबाट राष्ट्रिय महìवको सडकमार्ग बनाउने लक्ष्य अनुसार रातो किताबमा समावेश गराएर कार्यान्वयन अघि बढाइएको, नागरिकलाई स्वास्थ्य, शिक्षा र यातायातमा सहुलियत दिने, दैनिक कामकाजका लागि सरकारी कार्यालयमा पुग्ने सेवाग्राहीलाई सहजै सेवा प्राप्त हुने प्रबन्ध गर्ने जस्ता विषयलाई आफ्नो मुद्दा बनाउनुभएको छ । उहाँले भन्नुभयो, “सानाठुला गरेर कैयौँ परियोजना र विकास निर्माणका काम पूरा गर्नका लागि म प्रयत्नशील छु । नागरिकको सेवामा निरन्तर खटिएको छु ।”
ललितपुर क्षेत्र नं. १ का एमाले उम्मेदवार चेतनाथ सञ्जेलले पनि यो क्षेत्र भौगोलिक रूपमा विकट र सुगम क्षेत्रसम्म रहेकाले ठाउँ अनुसार अलग अलग ढङ्गले विकास निर्माण कार्य अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “भौतिक पूर्वाधार, सडकसहित अन्य विकासका परियोजनाको काम गर्नुपर्ने छ । किसानलाई सिँचाइ सुविधादेखि स्वरोजगारीसम्मका कार्यक्रम यस क्षेत्रमा आवश्यक छन् ।”
मुआब्जादेखि संस्कृति संरक्षणसम्म
क्षेत्र नं. २ का रास्वपाका उम्मेवदार एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेवाः सभ्यता र परम्पराको संरक्षण, मठमन्दिर, सांस्कृतिक सम्पदाको जगेर्ना गर्ने तथा रोजगारी सिर्जनासम्मका विषय मतदाताले उठाएको बताउनुभयो । उहाँले निजी क्षेत्रलाई प्रवर्धन गर्ने, गुणस्तरीय सार्वजनिक सेवा प्रवाह, सुशासन, यातायातको विकास र विस्तार एवं आर्थिक वृद्धिका सवालमा प्रस्ट खाका बनाएर निर्वाचनमा होमिएको बताउनुभयो ।
ललितपुर क्षेत्र नं. ३ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार एवं संविधान सभा सदस्य राजकाजी महर्जनले सडकको विस्तारसँगै नागरिकलाई मुआब्जा उपलब्ध गराउने विषय मतदाताले उठाएको बताउनुभयो । उहाँले आधारभूत सेवा सुविधा, सरकारी सेवाको सहज पहुँच तथा किसानका समस्यालाई पनि सम्बोधन गरिनुपर्ने नागरिकको माग रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सडक फराकिलो बनाउने हो तर सडक विस्तार गर्न नागरिकले आफ्नो थातथलो छाड्नुपर्ने स्थिति आउन भएन । नागरिकमैत्री विकास निर्माण हुनुपर्ने र मुआब्जा पाउनुपर्ने कुरा उठेका छन् ।”
उम्मेदवार कोही पुराना, कोही नयाँ
कांग्रेसले ललितपुर क्षेत्र नं. १ मा सहमहामन्त्री उदयशमशेर राणालाई उम्मेदवार बनाएको छ । यसअघि पनि उहाँ सोही क्षेत्रबाट विजयी हुनुभएको थियो । त्यसै गरी एमालेले चेतनाथ सञ्जेललाई उम्मेदवार बनाएको छ । एमालेका सञ्जेल २०७४ मा बागमती प्रदेश सभा सदस्य बन्नुभएको थियो । नेपाली कम्युनिस्ट पार्टीले सुनील महर्जनलाई पहिलो पटक उम्मेदवार बनाएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले बुद्धरत्न महर्जनलाई उम्मेदवार बनाएको छ । उहाँ २०७९ मा पनि प्रतिस्पर्धी हुनुहुन्थ्यो ।
कांग्रेसले ललितपुर क्षेत्र नं. २ मा प्रेमकृष्ण महर्जनलाई उम्मेदवार बनाएको छ । उहाँ २०७४ मा प्रदेश सभा सदस्य निर्वाचित भए पनि प्रतिनिधि सभामा पहिलो पटक उम्मेदवार हुनुभएको हो । एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन हुनुहुन्छ । उहाँ २०७९ मा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । नेपाली कम्युनिस्ट पार्टीले राजेन्द्र अमात्यलाई उम्मेदवार बनाएको छ । उहाँ पहिलो पटक नै प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट पहिलो पटक उम्मेदवार बन्नुभएका जगदीश खरेल प्रतिनिधि सभा सदस्य निर्वाचनकै लागि मन्त्री पदबाट राजीनामा दिनुभएको हो ।
ललितपुर क्षेत्र नं. ३ मा कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठ पनि पहिलो पटक उम्मेदवार हुनुभएको हो । एमालेले सन्दन थापामगरलाई पहिलो पटक उम्मेदवार बनाएको छ । नेपाली कम्युनिस्ट पार्टी राजकाजी महर्जनलाई उम्मेदवार बनाएको छ । उहाँ संविधान सभा २०६४ को निर्वाचनमा २५ वर्षकै उमेरमा निर्वाचित हुनुभएको थियो । उहाँ २०७४ मा प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले डा. तोसिमा कार्कीलाई उम्मेदवार बनाएको छ । उहाँ २०७९ मा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।
ललितपुरमा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त), नेपाल मजदुर किसान पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसन, जनता समाजवादी पार्टी नेपाल, आम जनता पार्टी, नेसनल रिपब्लिक नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, श्रम संस्कृति पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), उज्यालो नेपाल पार्टी, पिपुल फस्र्ट पार्टीसहितका दल र स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् ।