गोरखापत्र अनलाइन
काठमाडौं, माघ १८ गते । राष्ट्रपति रामचन्द्र पौडेल चार दिने भ्रमणका लागि आज राति जापान प्रस्थान गर्नुभएको छ । नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठको अवसरमा जापान सरकारको निमन्त्रणामा उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा जानुभएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल एयरलाइन्सको उडान नं ४३३ बाट राति ११ः३० बजे जापान प्रस्थान गर्नुभएको हो ।
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार भ्रमण सम्पन्न गरी उहाँ माघ २१ गते सोही एयरलाइन्सको उडान नं ४३४ बाट दिउँसो ४ः३० बजे स्वदेश फर्कनुहुने कार्यक्रम छ। भ्रमणका अवसरमा राष्ट्रपति पौडेलले माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा जापान सरकारको तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउनु हुनेछ ।
उहाँले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव राईले बताउनुभयो । सोही दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएबिच भेटवार्ता हुने तालिका छ । यस्तै, भ्रमणका क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।
राष्ट्रपति पौडेलको विदाइका लागि उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरु विदाइका लागि विमानस्थल पुग्नुभएको थियो । राष्ट्रपति पौडेलका साथमा उहाँकी धर्मपत्नी श्रीमती सबिता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू भ्रमणदलमा सहभागी रहनुभएको छ ।








