गोरखापत्र अनलाइन
काठमाडौं, माघ १८ गते । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचन देशको अस्तित्व, अस्मिता र स्वाधीनता रक्षाका दृष्टिले सर्वाधिक महत्वको निर्वाचन भएको बताउनुभएको छ।
यो निर्वाचन सामान्य निर्वाचन नभएको स्पष्ट गर्दै पार्टीको निर्वाचन परिचालन कमिटीका संयोजक समेत रहनुभएका उपाध्यक्ष ‘बादल’ ले आगामी निर्वाचन देशभक्त र देशद्रोहीबिचको सङ्घर्ष भएको बताउनुभयो ।
प्रवासी नेपाली संघ, भारतको केन्द्रीय समितिको सातौं बैठकलाई आज पार्टी केन्द्रीय कार्यालय, च्यासलबाट भर्चुअल सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनलाई देश जलाउने र देश बनाउनेहरू बिचको सङ्घर्षका रूपमा बुझ्नुपर्ने बताउनुभयो । उपाध्यक्ष बादलले नेकपा (एमाले) देश बनाउने देशभक्त पार्टी भएको बताउँदै यो निर्वाचनमा एमालेले जित्नैपर्ने धारणा राख्नुभयो ।
नेकपा (एमाले) को लक्ष्य आगामी निर्वाचनबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा लोकतान्त्रिक सरकारको पुनर्स्थापना गर्ने रहेको जानकारी गराउँदै बाह्य हस्तक्षेपविरूद्ध प्रतिरोधको सङ्घर्ष सफल बनाउन प्रवासमा रहेका नेपालीहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उपाध्यक्ष बादलले नेपाललाई ‘युक्रेन’ बनाउने योजना अन्तर्गत भदौ २३ र २४ गतेको विश्वंशात्मक घटना गराइएको र त्यसको दोस्रो प्रयास निर्वाचनबाट ‘जेलेनेस्की’ जन्माउने रहेको बताउँदै आगामी निर्वाचनमा देशभक्त, लोकतान्त्रिक शक्तिले जित्नु आवश्यक रहेको बताउनुभयो ।
भदौ २३ र २४ गतेको विध्वंशलाई सही ढङ्गले बुझ्न आग्रह गर्दै उपाध्यक्ष बादलले देशको अस्तित्वसँग जोडिएको आगामी निर्वाचनलाई देशभक्तहरूले जीवन– मरणको सङ्घर्षका रूपमा लिनुपर्ने बताउनुभयो । एमाले राष्ट्रियता, स्वाधीनता रक्षा गर्ने र देश निर्माण गर्ने पार्टी हो भन्ने विगतमा सरकारमा रहेको समयका कामबाट पुष्टि भएको स्मरण गराउँदै आगामी निर्वाचनबाट पार्टीलाई बहुमतका साथ विजयी बनाई देश निर्माणमा नेतृत्व गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
उपाध्यक्ष बादलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा निर्वाचन घोषणापत्रको तयारी भइरहेको र घोषणापत्रमा समावेश गरिने विभिन्न विषयहरूका बारेमा पनि सङ्क्षेपमा जानकारी गराउनुभएको थियो । घोषणापत्रमा देश र जनताका सरोकारका विषयहरूका साथै राष्ट्रियता, लोकतन्त्र, विकास र समृद्धिका साथै अन्तर्राष्ट्रिय सम्बन्ध लगायत विषयहरू समेटिने बताउनुभयो ।
एमालेले मात्र समाजवादी यात्रालाई अगाडि बढाउन सक्ने उहाँले स्पष्ट गर्नुभयो । प्रवासी नेपाली संघ, भारतका अध्यक्ष नारायण हुमागाईको अध्यक्षतामा भएको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा भारत प्रवास संयोजक हरिप्रसाद घिमिरेले भारत प्रवासमा रहेका नेपालीका समस्या लगायत विषयहरू राख्नुभएको थियो ।