धीरेन्द्रप्रसाद साह
राजविराज, माघ १८ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनमा सप्तरी जिल्लामा महिला उम्मेदवारको उपस्थिति यस पटक सङ्ख्यात्मक रूपमा मात्र होइन, राजनीतिक सन्देशका हिसाबले पनि अर्थपूर्ण बनेको छ । राजनीतिक दलले अपेक्षित अवसर नदिएको गुनासोसँगै धेरै महिलाले स्वतन्त्र उम्मेदवारी रोज्दा दलको भन्दा दोब्बर महिला उम्मेदवार स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीका अनुसार जिल्लाका चार वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कुल १०२ जना उम्मेदवार कायम भएका छन् । तीमध्ये २० जना महिला उम्मेदवार छन् । महिलामध्ये सात जना विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका छन् भने बाँकी १३ जना महिलाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । दलहरूले आफूहरूलाई पत्याउन नसकेको महसुस भएपछि स्वतन्त्र बाटो रोज्नु परेको महिला उम्मेदवारको भनाइ छ ।
थारू समुदायबाट र दलित समुदायबाट छ/छ जना उम्मेदवार रहेका छन् । यादव समुदायबाट तीन, मुस्लिम समुदायबाट एक, साह समुदायबाट एक र अन्यबाट तीन जना महिला उम्मेदवार बनेका छन् । पार्टीको हिसाबले तीन जना थारू, दुई जना यादव, एक जना ब्राह्मण, एक जना अल्पसङ्ख्यकबाट उम्मेदवार रहेका छन् । दलित समुदायबाट कुनै पनि दलले उम्मेदवार बनाएका छैनन् ।
निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुष्पाकुमारी चौधरी र नागरिक उन्मुक्ति पार्टीबाट टीकालक्ष्मी चौधरी दलका उम्मेदवार छन् । यही क्षेत्रबाट रामकुमारी खङ्ग, रिजवाना खातुन र उम्दादेवी सदा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धामा उत्रिएका छन् ।
निर्वाचन क्षेत्र नं. २ मा नेपाल जनता पार्टीका तर्फबाट पूर्वसांसद रञ्जुकुमारी ठाकुर र नेपाल मजदुर किसान पार्टीबाट नीलमकुमारी यादव दलका उम्मेदवार बनेका छन् । यस क्षेत्रबाट अम्बिकादेवी साफी, सुशीलाकुमारी साह, विन्दुकुमारी चौधरी र साधना दासले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
निर्वाचन क्षेत्र नं. ३ मा राजनीतिक दलबाट कुनै पनि महिलाको उम्मेदवारी परेको छैन । यहाँ कौशलकुमारी चौधरी, रजियादेवी सदा, सरिताकुमारी यादव र कोशिलादेवी पासमान स्वतन्त्र रूपमा चुनावी प्रतिस्पर्धामा छन् ।
यस्तै निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कम्युनिस्ट पार्टीबाट रुबीकुमारी कर्ण, जनता समाजवादी पार्टी नेपालबाट बाँबी सिंह र आमजनता पार्टीबाट अनिताकुमारी चौधरी दलका उम्मेदवार छन् । यस क्षेत्रबाट प्रेमकुमारी महरा र सनमकुमारी चौधरी स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका छन् ।
यस पटक सप्तरीमा देखिएको महिला उम्मेदवारीको यो तस्बिरले राजनीतिक दलभित्र महिलाको स्थान, विश्वास र अवसरमाथि गम्भीर प्रश्न उठाएको छ । सङ्ख्या बढे पनि अधिकांश महिलाले स्वतन्त्र रूपमा सङ्घर्ष गर्नु परेको अवस्थाले आगामी दिनमा दलहरूको भूमिकामाथि पुनर्विचार आवश्यक देखिएको नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीको भनाइ छ ।