• १८ माघ २०८२, आइतबार

इलाम क्षेत्र नं. १ त्रिपक्षीय रोचक भिडन्त

blog

कोकिला ढकाल 

इलाम, माघ १८ गते । पूर्वप्रधानमन्त्री झलनाथ खनालको क्षेत्र भनेर चिनिने इलाम क्षेत्र नम्बर १ मा अहिले चुनावी माहोल निकै बढेको छ । 

विगतमा नेकपा (एमाले) ले विजय हासिल गर्दै आएको इलाम–१ मा यस पटक कसले बाजी मार्ला त्यो त निर्वाचनको मतपरिणाम पर्खनै पर्छ । यतिबेला इलाम–१ मा चुनावी गतिविधि बढेको छ । १३ राजनीतिक दलका १३ जना उम्मेदवार चुनावी मैदानमा रहेको यो क्षेत्रमा अन्ततः मुख्य प्रतिस्पर्धा भने ठुला दल नेकपा (एमाले), नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीबिच नै हुने निश्चित जस्तै छ । 

स्थानीय निर्वाचन जितेका पालिकाका आधारमा र अघिल्ला प्रतिनिधि सभा निर्वाचनको मतपरिणामको आधारलाई हेर्ने हो भने पनि यस पटक देखिएका नयाँ दलभन्दा पुराना दलकै मतदाता सङ्ख्या बढी भएको अनुमान गर्न सकिन्छ । 

‘नयाँ दल आए पनि यो क्षेत्रमा पुरानै दलको चुनावी गतिविधि बढी छ ।’ माई नगरपालिकाका वृद्ध मानसिंह साउदेन भन्नुहुन्छ, “खासमा पुराना दलले केही गरेनन् भन्ने चर्चा धेरैले गर्छन् तर मलाई लाग्छ, यसअघि पनि विकास निर्माणका काम नभएका होइनन्, भएका छन् । माथिबाट सडक, पूर्वाधार, पुल, पुलेसाका लागि बजेट नआएको होइन, ठेकेदारले समयमा काम चाहिँ नगरेको पक्कै हो ।” 

त्यसो त  इलाम–१, इलाम–२ को तुलनामा भौतिक पूर्वाधार अन्य विकास निर्माणमा निकै सुविधासम्पन्न मानिन्छ । चिया, दुध उत्पादन, छुर्पी, चिज, ललिपप जस्ता दुधजन्य पदार्थको उत्पादन, आलु, अदुवा, अम्लिसो, अकबरेलगायतका तरकारी उत्पादनको क्षेत्रमा अग्रणी  मानिने इलाम क्षेत्र नम्बर १ पर्यटकीय हिसाबले पनि महìवपूर्ण छ । यस पटकको चुनावी मैदानमा हुने प्रायः सबै जसो उम्मेदवारको मुख्य मुद्दा पनि इलाम–१ को कृषि उत्पादन, किसानलाई आत्मनिर्भर बनाउने लक्ष्य र पर्यटन पूर्वाधार तथा पर्यटन क्षेत्रको विकास नै प्रमुख रहेको पाइन्छ । 

यस पटक इलाम–१ का लागि सबै जसो उम्मेदवार पनि प्रानिनिधि सभाका लागि नयाँ अनुहार नै रहेका छन् । यसअघि क्षेत्र–१ मा ठुलो दल मानिएको नेकपा (एमाले) ले उठाएका उम्मेदवार काजीमान कागते चिया किसानका क्षेत्रबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ । एक पटक कोशी प्रदेश सभा सदस्य भएका कागतेको मुख्य मुद्दा किसान र श्रमिकका आर्थिक धरातल राम्रो बनाउनु, पर्यटन क्षेत्रको विकास गर्नु र पूरा नभएका पूर्वाधारका कामलाई पूर्णता दिनुु नै रहेको छ । “इलाम–१ का यसअघि धेरै काम भएको छ तर त्यसमा ढुक्क हुने अवस्था छैन, पूर्वाधारका काम भए पनि पूर्ण भएका छैनन्,” कागते भन्नुहुन्छ, “ती पूरा नभएका कामलाई पूर्णता दिन र आर्थिक धरातलमा अझै तल परेका सम्पूर्ण किसान, मजदुरको आर्थिक व्यवस्था मजबुत बनाउन यस पटक म मैदानमा उत्रिएको छु ।” कागतेले आफ्नो क्षेत्रको शिक्षा, स्वास्थ्य र किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको बजारीकरणका लागि पनि आफू पहिलादेखि लागिरहेको बताउनुभयो । 

प्रतिनिधि सभाका लागि अर्को नयाँ उम्मेदवार नेपाली कांग्रेसका निश्चल राई पनि क्षेत्र नम्बर–१ को पूर्वाधार विकास, पर्यटन, शिक्षा स्वास्थ्यकै मुख्य मुद्दा राखेर मतदातामाझ मत माग्न व्यस्त हुनुहुन्छ । २०४८ सालयताका निर्वाचनमध्ये २०५१ सालको निर्वाचनमा नेपाली कांग्रेसका बेनुपराज प्रसाईंले एक पटक जितेको कांग्रेसले यस पटक राईलाई नयाँ अनुहार र युवा पुस्ताका प्रतिनिधिका रूपमा अघि सारेको छ । राईले अघिल्ला विजयी प्रतिनिधिले भन्दा बढी काम गर्ने मतदातामाझ प्रतिबद्धता व्यक्त गरिरहनुभएको छ । 

यस पटक एमाले र कांग्रेस सँगै प्रतिस्पर्धामा देखिएका नेपाली कम्युनिस्ट पाटीका उम्मेदवार रणबहादुर राई इलाम–१ बाट प्रतिनिधि सभा सदस्यका लागि नयाँ अनुहार हो । सूर्योदय नगरपालिकाको दुई पटक प्रमुख भएका राई पछिल्लो पटक नगरप्रमुखबाट राजीनामा दिएर निर्वाचनमा होमिनुभएको हो । सूर्योदय नगरपालिकालाई जिल्लाका अन्य पालिकाभन्दा विकासमा समृद्ध गराउने राई सूर्योदयभरि निकै चर्चित मानिनुहुन्छ । प्रतिनिधि सभामा जितेपछि पनि इलाम–१ का लागि विकासको फरक मोडल लागु गर्न र यहाँका नागरिकको आर्थिक समृद्धिका लागि काम गर्न आफू तयार रहेको राई बताउनुहुन्छ । राईले भन्नुभयो, “नगरपालिकामा रहँदा जसरी राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्धबाट काम गरियो, मतदातामाझ त्यो सम्बन्धलाई कायम राखेर इलाम–१ का लागि खट्ने प्रतिबद्धता व्यक्त गरेको छु ।”

अघिल्लो निर्वाचनमा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पछि पार्दै नेकपा (एमाले) का महेश बस्नेतले २५ हजार ७५३ मत ल्याएर विजयी हुनुभएको थियो । पूर्वप्रधानमन्त्री खनालले २३ हजार ८९ मत प्राप्त गर्नुभएको थियो । यस पटक राईलाई खनालकै उत्तराधिकारीका रूपमा इलाम–१ मा हेरिएको छ । धेरै वटा दल गाभिएर बनेको नेपाली कम्युनिस्ट पार्टी भएकाले पनि राई चुनावी प्रतिस्पर्धामा वजनदार मानिनुहुन्छ  । यता एमालेका काजीमान कागतेका लागि माई नगरपालिका र माईजोगमाई गाउँपालिकाको मत बलियो मानिएको छ । यस पटक इलाम–१ मा  एमालेका काजीमान, नेपाली कांग्रेसका निश्कल, नेपाली कम्युुनिस्ट पार्टीका रणबहादुुर राईसहित १३ जना चुनावी मैदानमा रहनुभएको छ ।