हुम्ला समाचारदाता
हुम्ला, माघ १८ गते । यहाँको नाम्खा गाउँपालिका–६ को हिमालपारिको लिमीको जाङ्गगाउँँको भृकुटी प्राथमिक विद्यालय मतदान स्थलका मतदाता सबै काठमाडौँमा रहेका छन् । अधिकांशले गाउँ नै छोडिसकेको र केही घरधुरी भए पनि गत कात्तिकमा जाडो छल्न काठमाडौँ झरेका कारण उक्त गाउँ मतदाताविहीन भएको हो ।
लिमीका वडाध्यक्ष पाल्जोर तामाङले जाङ्गगाउँ मानिसविहीन अवस्था रहेका कारण यस पटकको निर्वाचनमा मतदान कार्य हुन कठिन रहेको बताउनुभयो । सो गाउँका अधिकांश स्थानीय काठमाडौँमा झरेको र त्यहाँ बस्दै आएका सात घरधुरीका स्थानीयले पनि कात्तिक अन्त्यतिर गाउँ छोडेर काठमाडौँ झरेका कारण हाल सो गाउँमा मतदाता त के मानिसविहीन अवस्थामा रहेको उहाँले बताउनुभयो । त्यसैले उक्त मतदान केन्द्रमा फागुन २१ गतेको निर्वाचनमा मतदाता पुगेर मतदान कार्यमा भाग लिने सम्भावना नरहेको उहाँँँको भनाइ छ । लिमीको भृकुटी प्रावि मतदान केन्द्रमा ११३ महिला र १३४ पुरुष मतदाता गरी २४७ मतदाता रहेका छन् ।
चैतसम्म हिमपात भइरहने भएका कारण फागुनको निर्वाचनमा सो मतदान केन्द्रमा हेलिकोप्टरले मतदाता सारे मात्र निर्वाचनमा सहभागी हुने अन्यथा सम्भव नदेखिएको उहाँले बताउनुभयो । मतदाता नभएको भृकुटी प्रावि मतदान केन्द्र रहेको छ भने न्यून मतदाता रहेका लिमीकै अर्का दुई मतदान स्थल पनि रहेका छन् । लिमीकै हिमशिखर प्रावि मतदान केन्द्र तालिमा ५२ महिला र ८० पुरुष मतदाता गरी १३२ मतदाता रहेकोमा हाल उक्त गाउँमा ४० मतदाता मात्र रहेको वडाध्यक्ष तामाङले बताउनुभयो ।
फागुनको निर्वाचनमा पनि सो गाउँमा मतदाताको सहभागिता न्यून रहने देखिन्छ । त्यसै गरी सबैभन्दा बढी मतदाता रहेको लिमीको हल्जीगाउँमा पनि हाल एक सय जना मात्र मतदाता गाउँमा बस्दै आएको तामाङले बताउनुभयो । लिमीको सुनखानी प्रावि हल्जीमा १३२ महिला र १६१ पुरुष गरी २९३ मतदाता रहेका छन् । बढी मतदाता बस्ने भनिएको सो गाउँमा ६० भन्दा कम प्रतिशत मतदाता पनि हाल गाउँँमा छैनन् । लिमीका तिनै मतदान केन्द्र गरी ६७२ मतदाता छन् । त्यसमा हालसम्मको अवस्था हेर्दा २०.८८ प्रतिशत मतदाताको मात्र निर्वाचनमा सहभागिता रहने स्थानीयको भनाइ छ । लिमी जाने नाम्खा गाउँँपालिका–५ को चार हजार ६७० मिटर उचाइको नारा लेक र पाँच हजार मिटर उचाइको न्यालु नाकामा बाक्लो हिमपातका कारण आउजाउ बन्द छ । यी नाका यस वर्ष मात्र नभएर सधैँ हिउँदमा हिमपातका कारण बन्द हुने गर्दछ ।