• १८ माघ २०८२, आइतबार

मतदाता खोज्दै पोखरामा म्याग्दीका उम्मेदवार

blog

ठाकुरप्रसाद आचार्य  
बेनी, माघ १८ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै म्याग्दीका उम्मेदवारहरु मतदाता भेट्न सहर झरेका छन् । विभिन्न पेसा, रोजगारी तथा व्यावसायका लागि आफ्नो थातथलो छाडेर सहर पुगेका जिल्लाका मतदाताहरुसँग भेटघाट गर्न उम्मेदवारहरु सहरबजार झर्न थालेका हुन् ।

जिल्लालाई सहरबजारसँग जोड्नलाई राजनीतिक दलहरुले बनाएका सम्पर्क मञ्चमार्फत उम्मेदवारहरुले पोखरा र काठमाडौँमा भेटघाट गर्न थालेका छन् ।

जिल्लामा मतदाता नामावलीमा नाम भए पनि पोखरामा विभिन्न पेसा, रोजगारी र व्यावसाय गरेर बसोबास गर्दै आएका म्याग्देली मतदातासँग प्रत्यक्ष भेटघाट, अन्तरक्रिया तथा चुनावी सहयोगको अपिल गर्न राजनीतिक दलका नेता सहित जिल्लाका उम्मेदवारहरु पोखरा पुगेका छन् ।

पोखरा पुगेका उम्मेदवारहरुले आ–आफ्नो पार्टी निकट म्याग्दी–पोखरा सम्पर्क मञ्च मार्फत म्याग्देली मतदाताहरुसँग उम्मेदवार परिचय तथा भेटघाट गरेका छन् । मतदातासँगको अन्तरक्रियामा उम्मेदवारहरुले जिल्लाको विकास र समृद्धिका योजनाहरु सुनाएका छन् ।

नेकपाबाट उम्मेदवार बन्नुभएका अर्जुन थापाले शुक्रबार म्याग्दी–पोखरा सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रम मार्फत मतदातासँग भेटघाट र अन्तरक्रिया गर्नुभयो ।

यसैगरी, नेकपा (एमाले) बाट चुनावी प्रतिस्पर्धामा उत्रिनुभएका हरिकृष्ण श्रेष्ठले शनिबार म्याग्दी–पोखरा सम्पर्क कमिटीमार्फत पोखरामा रहेका मतदाताहरुसँग भेटघाट गर्नुभएको छ ।

शुक्रबार पोखरमा आयोजना गरेको कार्यक्रममा नेकपाका उम्मेदवार अर्जुन थापाले पोखरामा बसोबास गर्ने म्याग्देलीहरु आवद्ध संस्थाका प्रतिनिधिहरुको उपस्थिति आफ्ना चुनावी प्रतिवद्धताहरु सुनाउनुभयो ।

उहाँले जिल्लाको हालको अवस्था,समस्या,आवश्यकता, जिल्लामा सञ्चालित विकास आयोजना र आगामी योजना तथा कार्यक्रमहरुको विषयमा छलफल गर्नुभएको नेकपाका जिल्ला नेता शेरबहादुर केसीले जानकारी दिनुभयो ।

नेकपाका केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला इञ्चार्ज गोविन्द पौडलले राजनीतिक उपलब्धीहरुको रक्षा गर्दै सुशासन, सामाजिक न्याय सहितको आर्थिक समृद्धि हासिल गर्नका लागि नेकपाको जित आवश्यक रहेको बताउनुभयो ।

नेकपा (एमाले) निकट म्याग्दी–पोखरा सम्पर्क कमिटीले आयोजना गरेको मतदाता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उम्मेदवार एमालेका उम्मेदवार श्रेष्ठले जिल्लाको पर्यटन,सडक,जलविद्युत र कृषि क्षेत्रको विकासका लागि आफूले संसदमा उपयुक्त नीति बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । विभिन्न पेसा तथा रोजगारीका अवसरमा पोखरामा बसोबास गर्ने मतादताहरुलाई चुनावका दिन जिल्लामा फर्किएर सहयोग गर्न अनुुरोध गर्नुभयो ।

यसै गरी नेपाली कांग्रेस लगायतका अन्य राजनीतिक दलहरुले पनि पोखरामा बसोबास गर्ने म्याग्देली मतदाताहरुसँग भेटघाट र अन्तरक्रिया कार्यक्रमको योजना बनाएका छन् ।