शालिग्राम नेपाल
चितवन, माघ १८ गते । चितवनको निर्वाचन क्षेत्र नं. ३ अहिले सबैको चासोको विषय बनेको छ । यसअगाडिको निर्वाचनमा क्षेत्र नंं. २ र १ लाई चासोका रूपमा लिने गरेकोमा अहिले अवस्था फेरिएर क्षेत्र नं. ३ को निर्वाचनलाई प्रतिष्ठाको विषय बनाइएको छ ।
यस निर्वाचन क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी नेकपाकी नेतृ भरतपुर महानगरपालिकाको निवर्तमान प्रमुख रेनु दाहालले उम्मेदवार बन्नुभएको छ । यसै क्षेत्रमा नेपाली कांग्रेसका पुराना नेता पूर्वजिल्ला सभापति टेकप्रसाद गुरुङ, नेकपा (एमाले) का महानगर कमिटी अध्यक्ष शङ्कर थपलिया, राष्ट्रिय स्वतन्त्र पार्टीकी निवर्तमान संसद् सोविता गौतम, राप्रपाबाट दीपक थापा उमेदवार हुनुभएको छ ।
भरतपुर महानगरपालिकामा प्रमुख भएर विकासनिर्माणको राम्रो काम गरेका कारण दाहालको प्रभाव राम्रो भएको नेकपाका नेताहरूको दाबी छ । यस क्षेत्रमा १२ वर्षपछि आफ्नै निर्वाचन चिह्नमा मत राख्न पाउँदा पार्टीसहित शुभचिन्तक खुसी भएकाले कांग्रेसको जित हुने पार्टीले विश्वास लिएको छ । पटक पटक छाडेको र उपयुक्त वातावरणको अभाव भएको भन्दै नेकपा (एमाले) ले यस पटक परिणाम आफ्नो हातमा पर्ने भन्दै मतदातासँग भेटघाटलाई तीव्रता दिएको छ । गएको निर्वाचनमा दुई राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले एमालेको समर्थनमा उठाएका उम्मेदवार, कांग्रेस र तत्कालीन माओवादीको साझा उम्मेदवारलाई हराएको कारण पाण्डेको प्रभावलाई कमजोर मान्न सकिँदैन । निर्वाचनको प्रचारमा गएका उम्मेदवार यस पटक स्थानीय नेताको प्रभाव पर्ने भन्दै विश्वास व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालले लामो समयको रिक्तता यस पटक विजय हासिल गरेर पूरा गर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीले विभिन्न कारणले यो क्षेत्र छाड्दै आएका थियौँ, यस पटक लामो इतिहास बोक्नुभएका व्यक्तिलाई उम्मेदवार बनाएका छौँ, विजय हामीले पाउने छौँ ।” नेकपाकी उम्मेदवार रेनु दाहालले भन्नुभयो, “लगातार आठ वर्षसम्म महानगरको नेतृत्व गरेकाले मेरो काम यहाँका मतदाताले बुझ्नुभएको छ त्यसैले मेरो मतदाताले परिणाम मेरो पक्षमा दिनुहुनेमा म विश्वस्त छु ।” नेतृत्वमा आउनुपूर्व भरतपुर र अहिलेको अवस्था आँखाले देख्ने भएकाले विकास चाहने मतदाताका लागि सबैभन्दा उपयुक्त पात्र आफू नै भएको दाहाल बताउनुहुन्छ ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य कृष्णभक्त पोखरेलले राष्ट्रिय राजनीति तथा जिल्लाको विकासमा एमालेको नेतृत्वले धेरै राम्रो काम गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस पटक हामीले युवा, ऊर्जावान्, तिनै क्षेत्रमा नयाँ अनुहार दिएकाले विजय हासिल गर्न कुनै समस्या छैन । ३ नम्बर क्षेत्रमा त्यही घर भएका जनताको सुखदुःखमा साथ दिएका शङ्कर थपलिया उम्मेदवार हुनुभएकाले मतदातालाई रोज्न धेरै सजिलो भएको छ ।” राप्रपाका उपाध्यक्ष तथा निवर्तमान संसद् विक्रम पाण्डेले आफ्नो नेतृत्वमा यस क्षेत्रको विकास निर्माणमा राम्रो काम भएको छ । मालपोत कार्यालय, नापी कार्यालय, माडी नगरपालिका निर्माणमा आफ्नो भूमिका रहेको बताउनुभयो । आफूले यस पटक युवालाई नेतृत्वमा ल्याउनु पर्छ भनेर युवा दीपक थापालाई उम्मेदवार बनाएकाले मतदाताले राप्रपालाई रोज्नेमा कुनै दुई मत नभएको बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोविता गौतमले परिवर्तन चाहनेका लागि उपयुक्त उम्मेदवार आफू भएको बताउनुभयो । देशभरि मतदाताको चाहना नयाँ पार्टी नयाँ उम्मेदवार भएको प्रस्ट देखिएको छ । त्यसैले आफूले जित्नेमा कुनै शङ्का नभएको उहाँले बताउनुभयो । यस निर्वाचन क्षेत्रमा एमाले र कांग्रेसले भने १२ वर्षपछि मात्रै आफ्नै चुनाव चिह्नमा मतदान गर्दै छन् । त्यसैले पनि यो क्षेत्र निकै नै रोचक बन्दै गएको छ । अहिलेको ३ नं. निर्वाचन क्षेत्र विगतमा ५ नं., ४ नं. थिए । २०७४ देखि तीन वटा कायम भएको छ । यहाँबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित हुनुभएको थियो । प्रचण्डसँग राप्रपाका विक्रम पाण्डे पराजित हुनुभएको थियो ।
२०७९ को चुनावमा यस क्षेत्रमा राप्रपाका विक्रम पाण्डे विजयी हुनुभएको थियो । पाण्डेले आफ्ना निकट प्रतिद्वन्द्वी माओवादी केन्द्रका भोजराज अधिकारीलाई नौ हजारभन्दा बढी मतान्तरले विजयी हुनुभयो । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट अधिकारी उम्मेदवार बन्नुभएको थियो । पाण्डेले ३५ हजार ५५ मत ल्याउँदा अधिकारीले २५ हजार ८२२ मत ल्याउनुभएको थियो । यस क्षेत्रमा कांग्रेसबाट बागी उठ्नुभएका दिनेश कोइरालालाई एमालेले सघाएको थियो । दिनेश कोइरालाको १२ हजार ५७ मत आयो । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले तेस्रो स्थान प्राप्त गर्नुभयो । उहाँले १४ हजार ८४२ मत ल्याउनुभएको थियो ।