• १८ माघ २०८२, आइतबार

पाकिस्तानको बलुचिस्तानमा हिंसात्मक झडप

blog

काठमाडौँ, माघ १८ गते । पाकिस्तानको बलुचिस्तानका विभिन्न स्थानमा हिंसात्मक झडप भएको छ । सुरक्षा बलले शनिबार बलुचिस्तानका विभिन्न स्थानमा पृथकतावादी बन्दुकधारीहरूद्वारा गरिएका श्रृंखलाबद्ध र समन्वयात्मक आक्रमणहरूलाई असफल तुल्याएको जनाएको छ ।

सर्वसाधारणको हत्या भएपछि गरिएको प्रतिकारात्मक कारबाहीमा सुरक्षा बलले कम्तीमा ६७ 'आतंककारी'हरूलाई मारेको जनाइएको छ । योसँगै विगत दुई दिनमा प्रदेशभर मारिने बन्दुकधारीहरूको कुल संख्या १०८ पुगेको संचारमाध्यमहरूले जनाएका छन् ।

सरकारी प्रसारक पाकिस्तान टेलिभिजनका अनुसार सशस्त्र समूहका सदस्यहरूले क्वेटा, नुस्की, दलबन्दिन, पास्नी र ग्वादरलगायत एक दर्जनभन्दा बढी स्थानमा एकैसाथ आक्रमण गरेका थिए । प्रतिबन्धित आतंककारी समूह बलुचिस्तान लिबरेसन आर्मीले शनिबारको यी आक्रमणहरूको जिम्मेवारी लिएको छ ।

भिडन्तमा १० प्रहरी र सुरक्षाकर्मीले पनि ज्यान गुमाएका छन् भने अन्य केही घाइते भएका छन् । ग्वादरमा बन्दुकधारीहरूले निःशस्त्र मजदुरहरूलाई निशाना बनाउँदा ५ पुरुष, ३ महिला र ३ बालबालिकासहित ११ सर्वसाधारणको मृत्यु भएको छ ।

सुरक्षा बलले उक्त आक्रमणमा संलग्न सबैलाई मारिसकेको जनाएको छ । यसैबीच, मस्तुङ जेलमा भएको आक्रमणको फाइदा उठाउँदै २७ कैदीहरू फरार भएको प्रहरी अधिकारीहरूले बताएका छन् ।

संघीय आन्तरिक मामिलामन्त्री मोहसिन नक्वीले क्वेटा पुगेर बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुग्ती र वरिष्ठ सैन्य तथा नागरिक अधिकारीहरूसँग भेटघाट गरी सुरक्षा स्थितिको समीक्षा गरेका छन्  ।

क्वेटामा भएको हिंसा शक्तिशाली विष्फोटबाट सुरु भएको थियो, जसलगत्तै करिब दुई घण्टासम्म भारी गोलाबारी भएको थियो । सुरक्षा बलले संवेदनशील क्षेत्रहरू सिल गरी उच्च सतर्कता अपनाएको छ । सुरक्षा संवेदनशीलताका कारण क्वेटा जाने र आउने सबै रेल सेवाहरू निलम्बन गरिएका छन् भने प्रभावित क्षेत्रमा इन्टरनेट सेवा समेत बन्द गरिएको छ ।

पाकिस्तानी सेनाको सञ्चार शाखाका अनुसार हर्नई र पन्जगुर जिल्लामा गुप्तचर सूचनाका आधारमा गरिएको कारबाहीमा ठूलो परिमाणमा हतियार र गोलाबारुद समेत बरामद गरिएको छ ।

हर्नईमा भएको भीषण भिडन्तमा ३० बन्दुकधारी मारिएका छन् भने पन्जगुरमा आतंककारीहरूको लुक्ने ठाउँलाई निशाना बनाउँदा ११ जना मारिएका छन् ।

प्राकृतिक ग्यास, कोइला, तामा र सुन जस्ता प्राकृतिक स्रोतले धनी बलुचिस्तान प्रदेशमा विगत लामो समयदेखि सुरक्षा बल, सरकारी निकाय र सर्वसाधारणमाथि हिंसात्मक गतिविधि हुँदै आएका छन् ।

बलुचिस्तान लिबेरेसन आर्मी (बीएलए) र तहरीक–ए–तालिबान पाकिस्तान ९टीटीपी० जस्ता समूहहरूले यहाँ निर्माणाधीन चीन–पाकिस्तान आर्थिक कोरिडोरजस्ता मुख्य आयोजनाहरूलाई समेत निशाना बनाउँदै आएका छन् ।

स्थानीय असन्तुष्टि, कठिन भूगोल र सीमापार सम्बन्धको फाइदा उठाउँदै यी समूहहरू सक्रिय रहेकाले यस क्षेत्रमा आतंकवाद विरोधी अभियान चुनौतीपूर्ण बनेको अधिकारीहरूको भनाइ छ ।