• १८ माघ २०८२, आइतबार

दैलेख क्षेत्र नं. १ पुराना र नयाँबिच प्रतिस्पर्धा

blog

दैलेख समाचारदाता

दैलेख, माघ १८ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा दैलेख निर्वाचन क्षेत्र नं. १ मा संसद् दोहोर्‍याउन चाहने र नयाँ उम्मेदवारबिच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । 

निर्वाचनमा कुनै पनि दलको चुनावी गठबन्धन नभएका कारण पनि निर्वाचन प्रतिस्पर्धा रोचक हुने भएको हो । दैलेख निर्वाचन क्षेत्र नं. १ मा नेकपा (एमाले) बाट उम्मेदवार बनेका रवीन्द्रराज शर्मा यसअघि २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित भइसकेका नेता हुनुहुन्छ । २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्रको गठबन्धनका बलमा मैदानमा उत्रिएका उम्मेदवारसँग झिनो मतान्तरले पराजित भएका शर्मा यस पटक संसद् दोहोर्‍याउने दाउमा हुनुहुन्छ । एमालेले जनमत बलियो भएकै कारण उहाँलाई उम्मेदवार बनाएको छ ।  

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बन्नुभएका अम्मरबहादुर थापा संसदीय क्षेत्रमा अनुभवी रहनुभएको छ । थापा २०७० सालको संविधान सभा सदस्य निर्वाचन, २०७४ सालमा भएको प्रदेश सभा सदस्य निर्वाचन, २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको समर्थनमा विजयी भइसक्नुभएको छ । यस पटक भने थापा गठबन्धनबिनै प्रतिस्पर्धामा उत्रिँदा उहाँलाई चुनौती थपिएको छ । 

एमालेले मन्त्री नबनाएको निहुँमा प्रदेश सभामा ‘फ्लोर क्रस’ गर्नुभएका थापा माओवादी केन्द्र र एकीकृत समाजवादीको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बन्नुभएको छ । २०६४ सालयताका निर्वाचनमा माओवादी केन्द्रले पराजय भोग्दै आएको भए पनि यस पटक आफू निर्वाचन जित्ने दाबी उहाँले गर्नुभएको छ । 

२०७४ सालको प्रतिनिधि सभाको निर्वाचनदेखि आफ्नै उम्मेदवार नपाएको नेपाली कांग्रेसले यस निर्वाचनमा आफ्नै पार्टीबाट उम्मेदवार पाएको छ । युवा नेतृ बासना थापालाई उम्मेदवार बनाएको कांग्रेसले २०६४ सालको बिरासत फर्काउने अभियानमा लागेको छ । १० वर्षपछि आफ्नै चुनाव चिह्नसहित चुनावी मैदानमा उत्रिएको कांग्रेसका लागि बासना थापाको उम्मेदवारीलाई सङ्गठन पुनर्जीवन र नयाँ पुस्ताको प्रतिनिधित्वका रूपमा उभ्याएको छ । कांग्रेसले निर्वाचन जितेको खण्डमा उहाँ संसद्मा यात्रा गर्ने दैलेखबाट पहिलो निर्वाचित महिला सांसद हुने सौभाग्य प्राप्त गर्नुहुने छ । 

त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नन्दकिशोर बस्नेत पनि चुनावी प्रतिस्पर्धीका रूपमा उदानुभएको छ । वैकल्पिक राजनीतिप्रति बढ्दो आकर्षणका कारण बस्नेतले मत विभाजनमा भूमिका खेल्न सक्ने अनुमान गरिएको छ । नेकपा (एमाले), कांग्रेस, नेपाली कम्युनिस्ट पार्टीसँग रिसाएका जनताको मन जितेर संसदीय यात्रा गर्ने सोचमा उहाँ रहनुभएको छ । 

उहाँ औद्योगिक व्यवस्थापन लिमिटेडमा दुई कार्यकाल जिएम भइसक्नुभएको छ । स्थानीय तहमा देखिएको राजनीतिक गतिविधि र मतदातासँगको संवादले यस निर्वाचन क्षेत्रमा स्पष्ट बहुकोणीय प्रतिस्पर्धा हुने सङ्केत गरेको छ । नयाँ पुस्ताको प्रतिनिधित्व र वैकल्पिक शक्तिबिचको यो टक्करले दैलेख निर्वाचन क्षेत्र नं. १ को चुनावलाई चासोपूर्ण हेरिएको छ । अब मतदाताले संसद् दोहोर्‍याउने अनुभवी प्रतिनिधि रोज्ने हुन् कि नयाँ विकल्पलाई मौका दिने भन्ने निर्णय फागुन २१ गते स्पष्ट हुने छ ।