बाजुरा समाचारदाता
बाजुरा, माघ १८ गते । बाजुराका भेडाबाख्रा पालक किसानलाई यतिबेला मतदान गर्न समस्या हुने भएको छ । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली जगन्नाथ स्वामीकार्तिक खापर बुढीनन्दा नगरपालिका अधिकांश भेडाबाख्रा पालक किसान गत कात्तिकको पहिलो सातादेखि भेडीगोठ लिएर औल (बेँसी) झरेका छन् ।
उनीहरू वैशाखको पहिलो सातादेखि मात्र गाउँ फर्किने गर्छन् । यता प्रतिनिधि सभा सदस्यको निर्वाचन भने आगामी फागुन २१ गते रहेको छ । यो निर्वाचनमा उनीहरू भेडासँगै औलमा रहने भएकाले उनीहरूलाई चुनावको बेला गाउँमा फर्किएर मतदान गर्न समस्या भएको हो ।
उनीहरूको यो समस्या समाधान गर्न भने अहिले कुनै पनि राजनीतिक दलहरूले केही पहल चालेको देखिएको छैन । प्रायः मतदाताहरू अहिले भेडाबाख्रा चरिचरनको सिलसिलामा अछाम बाजुराको तल्लो क्षेत्रका विभिन्न स्थानमा रहेका छन् । कात्तिकदेखि हिमाली भेगमा निकै चिसो हुन्छ । त्यसलै हामी त्यो चिसो छल्न र भेडाबाख्रालाई चरिचरन गर्नका लागि अहिले अछामको विभिन्न ठाउँमा आएको बुढीनन्दा नगरपालिका स्थानीय प्रेमसिंह गुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले वैशाखमा मात्र गाउँ फर्किने गर्छु । अहिले हामी भेडाबाख्रा लिएर गाउँमा जाने सम्भावना छैन । गाउँमा उम्मेदवार गएका छन् । हामी यता भेडाबाख्रासँग छौँ । उनीहरूले हाम्रो यो समस्या बुझ्दैनन् । न बुझे हामी कसरी गाउँमा मतदान गर्न जाने । यदि कसैले हाम्रो यो समस्या बुझिदिने हो भने हामीलाई सहज हुन्थ्यो ।
हाम्रा लागि कि असोजमा निर्वाचन भए राम्रो हुन्थ्यो, कि वैशाख र जेठमा निर्वाचन भए राम्रो हुन्थ्यो । अहिले यो निर्वाचन फागुनमा भएकाले हामी यो निर्वाचनमा गाउँमा गएर मतदान गर्न निकै समस्या हुने गुरुङले बताउनुभयो । बाजुराको पूर्वीउत्तर क्षेत्रका स्थानीयको यो भेडापालन पेसालाई पुर्खौली पेसाको रूपमा लिन सकिन्छ । पहिला गाउँमा सडकको पहुँच नहुँदा उनीहरूले यसै भेडाबाख्राको भरमा गाउँ बस्तीमा नुन, तेल चामल ढुवानी गर्ने गर्थे ।
उनीहरूले भेडामा दैनिक उपभोग्य सामग्री ढुवानी गरी यहाँका अधिकांश गाउँबस्तीमा बिक्री गर्ने गर्थे । अहिले यहाँका सबै गाउँ बस्ती सडक सञ्चालनको पहुँचमा भएपछि उनीहरूको त्यो व्यवसाय बिस्तारै सङ्कटमा पर्ने गरेको छ ।
त्यति मात्र होइन अहिले यहाँका भेडापालकलाई भेडापालन गर्नसमेत निकै समस्या हुन थालेको छ । यहाँका गाउँ बस्तीमा रहेका वन, जङ्गल सबै अहिले सामुदायिक भएपछि उनीहरूलाई भेडाबाख्रापालनमा यो सङ्कट आएको हो ।
भेडाबाख्रा चरिचरन गर्नका लागि ठुलो क्षेत्रमा रहेको वन चाहिन्छ तर यहाँ भएका सबै वन सामुदायिक भएकाले अहिले उनीहरूले बिस्तारै भेडापालन छोड्नुपर्ने अवस्था आएको छ । यहाँको हिमाली गाउँपालिकामा १३८ भेडीगोठमा छ हजार, स्वामीकार्तिकमा ११५ परिवारको भेडीगोठमा आठ हजार, जगन्नाथमा गाउँपालिकाको १२० परिवारको भेडीगोठमा सात हजार २९ र बुढीनन्दा नगरपालिकाको तीन सय भेडीगोठमा झन्डै बिस हजारभन्दा बढी भेडाबाख्रा रहेका छन् ।
यहाँका पशु प्राविधिकका अनुसार बाजुरामा ६७३ भेडीगोठका झन्डै ४१ हजार २९ भेडाबाख्रा रहेका छन् । योभन्दा पहिला यहाँ भेडापालन गर्नेको सङ्ख्या बढी थियो भने यतिबेला कमी आएको छ । यहाँका अधिकांश स्थानीयले जागिरको खोजी गर्नु र भेडापालन गर्नका लागि चरिचरन गर्ने ठाउँ अभाव भएका कारण पछिल्लो समयमा यहाँ भेडाबाख्रा पाल्नेको सङ्ख्यामा पनि कमी आएको हिमाली गाउँपालिकाको भेटेरिनरी शाखाका प्राविधिक गौरी कार्कीले बताउनुभयो ।