सुर्खेत समाचारदाता
सुर्खेत, माघ १८ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार बनेका सुर्खेतका उम्मेदवाले घोषणापत्रबिनै आफ्नो पक्षमा मत माग्दै गाउँ छिरेका छन् । विगतमा स्थानीय तह, जिल्ला र प्रदेश सभा र सङ्घीय निर्वाचन क्षेत्रमा भए गरेका काम र देशको विद्यमान अवस्थालाई ध्यानमा राखेर उम्मेदवार पहिलो चरणमा घोषणापत्रबिनै मत माग्दै गाउँ छिरेका हुन् ।
सुर्खेत क्षेत्र नं. १ र २ का प्रमुख राजनीतिक दलका उम्मेदवार आआफ्नो क्षेत्रमा पर्ने पालिकाका मतदातासँग मत माग्न हिँडेका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरसमेत रहेको क्षेत्र नं. २ का नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पश्चिम क्षेत्र हान्निएका छन् तर उनीहरूसँग औपचारिक रूपमा कुनै घोषणापत्र छैन ।
नेपाली कांग्रेसका उम्मेदवार नारायण कोइराला पनि सोमबारदेखि गाउँ पस्नुभएको छ । वराहताल गाउँपालिका र पञ्चपुरी गाउँपालिकाका विभिन्न स्थानमा उहाँले कार्यकर्ता भेटघाट गर्नुभएको छ तर उहाँको हातमा अहिले घोषणा छैन । उम्मेदवार कोइरालाले घोषणापत्र निर्माणको काम भइरहेकाले छिट्टै मतदाताको हात हातमा पु¥याइने जानकारी दिनुभयो । उहाँले समग्र सुर्खेतको विकास निर्माणका साथै जनमुखी सेवा प्रशासन, सुशासन, भ्रष्टाचार नियन्त्रणलगायतका विषयलाई समेटिने बताउनुभयो ।
कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीले पार्टीले स्थानीय र प्रदेशस्तरका घोषणपत्र र प्रतिबद्धतापत्र निर्माणका लागि समिति गठन गरी निर्माणको काम थालिसकेको जानकारी दिनुभयो । केही दिनभित्र घोषणापत्र तयार भएपछि सार्वजनिक गर्दै उम्मेदवार पुनः गाउँ पस्ने उहाँको भनाइ छ ।
यस्तै नेकपा (एमाले) बाट उम्मेदवार बनेका कुलमणि देवकोटाले पश्चिमको चौकुनेबाट मतदातासँग भेट गर्दै हिँड्नुभएको छ । देवकोटाले मतदातासँगको भेटमा पश्चिम सुर्खेतको विकासमा एमालेको निर्णायक भूमिका रहँदै आएको बताउँदै जनताको विश्वास र समर्थनले मात्र समृद्ध सुर्खेत निर्माण सम्भव हुने जनाउनुभएको छ । एमाले प्रचार विभाग प्रमुख गङ्गाराम तिमिल्सेनाले पार्टी अहिले घोषणापत्र निर्माणको चरणमा रहेको बताउँदै सुरुमा मतदातासँग भेट गर्न गाउँ पसेको बताउनुभयो । घोषणापत्र निर्माणको चरणमा रहेको हुँदा केही दिनभित्र तयार गरिने उहाँको भनाइ छ ।
उता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश सापकोटा पनि पश्चिम सुर्खेतको चौकुने गाउँपालिका पुग्नुभएको छ । उहाँले विगतमा पुराना दलले विकास गर्न नसकेको, भ्रष्टाचार, बेथिति बढाएको भन्दै नयाँलाई परीक्षण गर्न आग्रह गर्नुभएको छ भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार झकबहादुर मल्लले पनि वराहताल पुगेर घरदैलो गरी मतदातासँग भेटघाट गर्नुभएको छ ।
सुर्खेत क्षेत्र नं. १ मा कांग्रेस उम्मेदवार विष्णुबहादुर खड्का, एमाले उम्मेदवार ध्रुवकुमार शाही, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार जितबहादुर राना, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर सिंह पनि बिनाघोषणापत्र गाउँमा मतदातासँग भेटघाट र घरदैलो गर्नुभएको छ । सबै पार्टीले घोषणापत्र निर्माण कार्य जारी रहेको र तयार हुनासाथ त्यो लिएर पुनः गाउँ पस्ने जनाएका छन् ।