शारदा समाचारदाता
शारदा (सल्यान), माघ १८ गते । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा चुनावमा उम्मेदवारले मतदाता रिझाउन एआई (कृत्रिम बौद्धिकता) प्रयोग गरी समाचार सामग्री प्रयोग गरेका छन् । त्यसका लागि उनीहरूले एआईबाट फोटो, भिडियोलगायत अन्य सामग्री बनाएर प्रयोगमा ल्याउने गरेका छन् । सल्यानमा प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार तथा सम्बन्धित राजनीतिक दलहरू चुनावी कार्यक्रम र मतदाता रिझाउने त्यस्तो गतिविधिमा व्यस्त देखिएका छन् ।
पालिका तथा वडास्तरका भेटघाट, घरदैलो कार्यक्रमदेखि सामाजिक सञ्जालमार्फत प्रचारप्रसार तीव्र बनेको छ । केही उम्मेदवारका प्रचार सामग्रीमा एआई (कृत्रिम बौद्धिकता) समेत प्रयोग भएको देखिन थालेको छ ।
यहाँ नेपाली कांग्रेसका उम्मेदवार तथा जिल्ला पार्टी सभापति केशबहादुर विष्ट चुनावी अभियानमा सक्रिय हुनुहुन्छ । पूर्वजिल्ला समन्वय समितिका प्रमुखसमेत रहनुभएका विष्टले प्रदेश र स्थानीय तहबिच समन्वयकारी भूमिकाको अनुभव, विकास आयोजना तथा कार्यक्रम अनुगमन, सरकारी कार्यालयबिच सहकार्य र जिल्लाको समग्र विकासमा सहजीकरण गरेको अनुभवलाई अब जिल्लावासीका समस्या केन्द्रसम्म पु¥याउने आधारका रूपमा अघि सार्नुभएको छ । नेकपा (एमाले) का उम्मेदवार तथा पार्टीका कर्णाली प्रदेश अध्यक्ष गुलाबजङ्ग शाह पालिका र वडास्तरीय कार्यक्रममा निरन्तर सहभागी भइरहनुभएको छ । एमालेले पालिका तथा वडा तहमा निर्वाचन परिचालन कमिटी गठन गरी संगठित रूपमा मतदाता भेटघाटलाई अघि बढाएको छ । शाहले औपचारिक रूपमा आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरिसक्नुभएको छ ।
नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार रमेश मल्लले पनि चुनावी अभियानलाई तीव्रता दिनुभएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रहिसकेका मल्ल पार्टीका अग्रज नेतासँगै पालिका तथा वडास्तरीय भेटघाटमा सक्रिय हुनुहुन्छ । उहाँले सल्यानको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार सुदृढ गर्दै उद्यमशीलता, स्वरोजगार र उत्पादन वृद्धिमार्फत आर्थिक समृद्धिमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सल्यानमा घरदैलो तथा चुनावी कार्यक्रमलाई निरन्तरता दिएको छ । पार्टीका उम्मेदवार तथा कर्णाली प्रदेश महामन्त्री ललित चन्दले विभिन्न स्थानमा पुगेर नागरिकका समस्या बुझ्दै समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै आउनुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार अनिशा नेपाली पनि जिल्लाका विभिन्न स्थानमा पुगेर मतदाता भेटघाट गरिरहनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य चन्द्रबहादुर खड्का ‘असल’ विशेषतः सशस्त्र सङ्घर्षकालका सहिद तथा घाइते परिवारसँग भेटघाटमा केन्द्रित देखिनुभएको छ । संविधान पुनर्लेखन गरी जनताको अधिकार सुनिश्चित गर्ने, भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय आयोग गठनलगायत मागसहित उहाँको पार्टी निर्वाचनमा होमिएको छ । सहिद परिवारका सदस्य तथा युद्धमा घाइतेसमेत रहेका खड्का तत्कालीन माओवादीका सैन्य कमान्डर तथा नेत्रविक्रम चन्द ‘विप्लव’ का प्रमुख स्वकीय सचिवका रूपमा पनि काम गरिसक्नुभएको छ ।
जिल्लाको इतिहास र वर्तमान अवस्थालाई बुझेको दाबी गर्दै युवाको परिवर्तनको आकाङ्क्षा पूरा गर्ने प्रतिबद्धतासहित ध्रुवराज वली स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी अभियानमा सक्रिय हुनुहुन्छ । सल्यानमा अर्का स्वतन्त्र उम्मेदवार जुद्धबहादुर सिंह पनि रहेकामा उहाँ हालै काठमाडौँबाट पक्राउ परेको बताइएको छ ।
सल्यानमा मजदुर किसान पार्टीबाट लालबहादुर थापा, नेसनल रिपब्लिकन नेपालबाट डिल्लीबहादुर घर्ती, संयुक्त नागरिक पार्टीबाट कालीदास विक, राष्ट्रिय जनमोर्चाबाट कमला डाँगी, मङ्गोल नेसनल अर्गनाइजेसनबाट बालसिंह घर्ती तथा श्रम संस्कृतिबाट धनबहादुर बुढा प्रत्यक्षतर्फका उम्मेदवारका रूपमा प्रतिस्पर्धामा रहनुभएको छ ।