सुलीकोट समाचारदाता
सुलीकोट, माघ १८ गते । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै गोरखा जिल्लाका ८३ मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले सुरक्षा अवस्थाको समग्र मूल्याङ्कन गर्दै ती मतदान स्थललाई उच्च जोखिमयुक्त ठहर गर्दै संवेदनशील सूचीमा राखेको हो ।
निर्वाचनलाई शान्त, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षात्मक तयारी कडा पारिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख भरत विकले जानकारी दिनुभयो । जिल्लामा कुल मतदान स्थलमध्ये १३० संवेदनशील र ११ वटा सामान्य वर्गमा परेको कार्यालय प्रमुख भरत विकले बताउनुभयो । गोरखा क्षेत्र नं. २ अन्तर्गतका मतदान स्थल तुलनात्मक रूपमा बढी अति संवेदनशील देखिएकाले विशेष सुरक्षा रणनीति तयार गरी आवश्यक स्थानमा थप जनशक्ति र निगरानीको व्यवस्था मिलाइने उहाँको भनाइ छ ।
जिल्ला निर्वाचन कार्यालय गोरखाको तथ्याङ्क अनुसार यस पटक कुल २२५ मतदान स्थल र तीन सय मतदान केन्द्र तोकिएका छन् । निर्वाचन क्षेत्र नं. १ मा १३१ मतदान स्थल र १८१ मतदान केन्द्र रहेका छन् भने क्षेत्र नं. २ मा ९४ मतदान स्थल र १५० मतदान केन्द्र छन् । गोरखामा भौगोलिक विकटता, विगतका घटनाक्रम र राजनीतिक प्रतिस्पर्धालाई आधार मानेर संवेदनशीलता निर्धारण गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
गोरखा क्षेत्र नं. १ मा कुल एक लाख २० हजार ५२५ मतदाता रहेका छन् । सो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीबाट हरिराज अधिकारी, नेपाली कांग्रेसबाट प्रेमकुमार खत्री, नेकपा (एमाले) बाट आरसी लामिछाने, रास्वपाबाट सुदन गुरुङलगायत उम्मेदारबिच प्रतिस्पर्धा हुने देखिएको छ । त्यसै गरी क्षेत्र नं. २ मा एक लाख आठ हजार ५३३ मतदाता रहेका छन् । यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीबाट लेखनाथ न्यौपाने, नेपाली कांग्रेसबाट प्रकाशचन्द्र दवाडी, एमालेबाट चक्रे मिलन र रास्वपाबाट कवीन्द्र बुर्लाकोटीलगायत उम्मेदवार चुनावी मैदानमा छन् ।