• १८ माघ २०८२, आइतबार

जग्गा विवादले प्रयोगमा आएन पुल

blog

वालिङ समाचारदाता

वालिङ, माघ १८ गते । स्याङ्जामा झोलुङ्गे पुल निर्माण भएको छ वर्षसम्म अलपत्र परेको छ । निर्माण भएपश्चात् प्रयोगमा नआई पुल अलपत्र परेको हो । जिल्लाको वालिङ नगरपालिका–१३, उदियाचौर र गल्याङ नगरपालिका–८, झोल्पेलाई जोड्ने गरी आँधीखोलामाथि निर्माण गरिएको झोलुङ्गे पुल लामो समयसम्म प्रयोगविहीन बनेको हो । 

पुल आवश्यकताका आधारमा भन्दा पहुँच र शक्तिका आधारमा निर्माण गरिएको स्थानीयको आरोप छ । पुलसम्म पुग्ने वारिपारि दुवैतर्फ सडक नहुँदा पुलको उपयोग हुन सकेको छैन । जसले गर्दा जिल्लाका उदियाचौर, खाइनडाँडा, कटौजेका स्थानीय पुरानै बजार बायटारी हुँदै हिँड्दै आएका छन् । 

पुलको दुवैतर्फ रुख र झाडी बढेर ढाकेको छ । वालिङतर्फको भागमा भिर छ भने गल्याङतर्फको भागमा भिर नभए पनि पुग्न सकिने बाटो नै छैन । पुलसम्म पुग्ने बाटोको व्यवस्था नै नगरी पुल निर्माण भएकाले समस्या आएको स्थानीय ज्योतिप्रसाद न्यौपानेले बताउनुभयो । घरनजिकैको पुललाई हेर्दै आफूहरू जङ्गल, भिरको बाटो हिँड्नु परेको न्यौपानेको गुनासो छ । पुलसम्म पुग्ने पहुँचमार्ग नबन्दा स्थानीय बासिन्दाले दैनिक आवतजावतमा समस्या भोग्दै आएका हुन् । २०७६ सालमा वालिङ र गल्याङ नगरपालिकालाई जोड्ने गरी आँधीखोलामाथि पुल निर्माण गरिएको हो । 

तत्कालीन जिल्ला विकास समितिमार्फत निर्माणको काम सुरु भएको भए पनि निर्माण सम्पन्न हुँदा लामो समय लागेको पुल निर्माणको अगुवाइ गर्नुभएका श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । पेलाकोटका कृषकले उत्पादन गरेको दुध राजमार्गसँगैको सहकारीमा लैजाने योजना अनुसार पुल निर्माण गरिएको उहाँको भनाइ छ । 

तत्कालीन अवस्थामा ७६ लाख रुपियाँमा निर्माण भएको पुल अहिले खिइन थालेको छ । पुलमा मान्छेले पाइला नटेकेको बर्सौं भइसकेको स्थानीय भुवानन्द पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “पुल बनाउँदा कामदारले पुलमा हिँडडुल गरे होलान् तर हामी स्थानीयले खुट्टा टेक्न पाएका छैनौँ ।” पहुँचमार्ग नहुँदा पुलसम्म जान नसकिएको उहाँको भनाइ छ । दुवैतर्फका बासिन्दा पुल बन्नुअघि जस्तै अहिले पनि घाँसदाउराका लागि खोला तर्नुपर्ने अवस्था कायमै छ । उहाँले भन्नुभयो, “पुलसम्म पुग्ने सडक भएको भए कम्तीमा झाडी र भिरको बाटो त हिँड्नुपर्ने थिएनन् ।” 

दुवैतर्फका बासिन्दाको आवश्यकता हेरेर पुल निर्माण गरिएको भन्दै तत्कालीन पुल निर्माण समितिका अध्यक्ष चण्डीप्रसाद पाठकले पुलसम्म सडक खोल्ने प्रयास भए पनि जग्गा विवादका कारण सफल हुन नसकेको बताउनुभयो । स्थानीय तह र सरोकारवाला निकायबिच समन्वय हुन नसक्दा पहुँचमार्ग बन्न नसकेको र  समस्या जटिल बन्दै गएको पाठकले बताउनुभयो । 

पुल अलपत्र परेपछि स्थानीय पनि चिन्तित छन् । स्थानीयका अनुसार हरेक विकास आयोजना पहुँच र दबाबका आधारमा नभई वास्तविक आवश्यकताका आधारमा सञ्चालन गरिनु पथ्र्याे ।