केशब राज भट्ट
वाशुलिङ बैतडी, माघ १८ गते । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा एक हजार चार सयभन्दा बढी कर्मचारी खटाइने भएको छ । दुई सय १४ मतदान केन्द्रका लागि एक हजार चार सय ४२ जना कर्मचारी खटाइने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।
निर्वाचनमा कर्मचारी परिचालनका लागि यहाँ रहेका सरकारी कार्यालयबाट विवरण माग भइरहेको निर्वाचन कार्यालय बैतडीका प्रमुख खगेन्द्र भारतीले जानकारी दिनुभयो । केही दिनभित्रै निर्वाचनमा खटिने कर्मचारीको विवरण सङ्कलन र खटन पटनको कार्य अगाडि बढाइने उहाँले बताउनुभयो ।
एक निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जनाको उम्मेदवारी कायम रहेको छ । यहाँ एक लाख ५६ हजार ३७२ मतदाता रहेका छन् । तीमध्ये ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई अन्य मतदाता रहेका छन् ।
पाँच सयभन्दा बढी मतदाता भएको मतदान केन्द्रमा ८ जना र सोभन्दा कम मतदाता भएको केन्द्रमा ७ जना कर्मचारी खटाइने निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो ।
सुरक्षाका दृष्टिले बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । जिल्लाका एक सय २९ मतदानस्थलमध्ये ३३ अतिसंवेदनशील, २८ संवेदनशील र ६८ सामान्य श्रेणीमा वर्गीकरण गरिएका जिल्ला सुरक्षा समितिले जनाएको छ ।