रेसुङ्गा समाचारदाता
रेसुङ्गा (गुल्मी), माघ १८ गते । गुल्मी क्षेत्र नं. १ का चार पुल निर्माणको विषय निर्वाचनका बेला सधैँ उठ्ने गरेको छ । विगतका निर्वाचनमा पुल नै नभएका कारण मतदातास्तरबाट राजनीतिक दलका नेताको आलोचना हुने गरेको थियो । अहिले पुल निर्माणको काम अगाडि बढेको छ तर बजेट अन्योलका कारण कामले पूर्णता पाउन सकेको छैन । सोही विषयलाई लिएर हरेक पटक चुनावमा उठ्ने अनुहारप्रति मतदाताले प्रश्न उठाउन थालेका छन् ।
गुल्मी क्षेत्र नं. १ अन्तर्गत रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्डका चार स्थानमा पुल निर्माणको काम अगाडि बढेको छ । सडक डिभिजन पाल्पामार्फत कार्यान्वयन भइरहेका चार पुल निर्माणको कामको राजेश्वरी–लुम्बिनी जेभीले भ्याटसहित २२ करोड ३१ लाख ६० हजार २१० रुपियाँमा सम्झौता गरेको छ । सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी इन्जिनियर दुर्गा गौतमका अनुसार एउटै ठेक्कामा चार वटा गरेर कुल १२० मिटर लम्बाइका पुल निर्माणको काम भइरहेको छ । बजेटको व्यवस्थापन नहुँदा अहिलेसम्म ८० प्रतिशत काम मात्र भएको गौतमले बताउनुभयो । २०३६ सालमा सडक विस्तार भएका ठाउँमा करिब पाँच दशकसम्म पक्की पुल थिएनन् ।
कालीगण्डकी कोरिडोर र मध्यपहाडी लोकमार्ग जोड्ने चार पुल निर्माणको काम अगाडि बढेपछि स्थानीय तहमा जागेको आशा सेलाउँदै जान थालेको छ । सत्यवती गाउँपालिका–४, लिम्घाका सरोज क्षेत्रीले राजनीतिक दलका नेताले भोटको राजनीति गर्न चुनावका बेला मात्रै पुलको चर्चा र कामको अनुगमन गर्दा समस्या देखिएको बताउनुभयो ।
सबैभन्दा बढी आवश्यक डहरेखोलाको पुल मानिएको छ । यसको फाउन्डेसन, सबस्ट्रक्चर र सुपरस्ट्रक्चरको ४० मिटर ढलानको काम सम्पन्न भइसकेको छ । बजेट नपाएपछि निर्माण व्यवसायीले पुल सञ्चालन हुन दिएका छैनन् । राजेश्वरी–लुम्बिनी जेभीका सञ्चालक भागवत गिरीले नादेवा, भार्से र गिदीखोलामा पनि पुलका विभिन्न चरणका काम भइरहेको बताउनुभयो । उहाँले समग्रमा निर्माण व्यवसायीका तर्फबाट ९० प्रतिशत काम सकिएको दाबी गर्दै यस वर्ष विनियोजन भएको छ करोड रुपियाँ गत वर्षकै दायित्वमा सकिएको बताउनुभयो । निर्माण व्यवसायी गिरीले काम गरेको हाल काम गरिरहेको रकम नपाउँदा बाँकी काम अगाडि बढाउन निकै समस्या भएको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, “काम गराउने कार्यालयसँग पैसा नै छैन । पाँच करोड रुपियाँ रोकिएपछि लेबरदेखि छड, सिमेन्ट कसरी ल्याएर काम गराउने निकै अन्योलमा हामी छौँ ।” गुल्मी क्षेत्र नं. १ का उम्मेदवार चन्द्र भण्डारीले एकै वर्षमा चार पुलको ९० प्रतिशत काम दुनियाँमा कहीँ नभएकाले निकट समयमै पुल निर्माण हुने विश्वास गर्नुभयो । उहाँले निर्माण व्यवसायी र कार्यालयसँग समन्वय नभएकाले निराशा नबाँड्न आग्रह गर्नुभयो ।