काठमाडौँ, माघ १८ गते । देशभर रहेका वातावरण निरीक्षकको विवरण उपलब्ध गराइदिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकाहरूलाई पत्राचार गरेको छ ।
वन तथा वातावरण मन्त्रालयको आग्रहबमोजिम सङ्घीय मामिलाले सबै स्थानीय तहलाई वातावरण निरीक्षकको बारेमा जानकारी उपलब्ध गराइदिन पत्राचार गरेको हो । मुलुकभर हाल वातावरण निरीक्षक सङ्घ, प्रदेश र स्थानीय तहमा के–कति सङ्ख्यामा छन्, मुलुकका लागि आवश्यक वातावरण निरीक्षकको सङ्ख्या के–कति हो रु भन्ने जानकारी उपलब्ध गराइदिन मन्त्रालयले आग्रह गरेको हो ।
उपलब्ध जनशक्तिले मुलुकको वातावरणसम्बन्धी विषयलाई सम्बोधन गर्न सकेको अवस्था छ वा छैन भन्ने विषयमा प्रदेश तथा स्थानीय तहबाट तोकिएको ढाँचामा विवरण उपलब्ध गराइदिन अनुरोध गरिएको छ । वातावरणसँग जोडिएका विषयमा आवश्यक जानकारी लिन, नियमन गर्न तथा वातावरण संरक्षणका लागि अत्यावश्यक कामका लागि वातावरण निरीक्षकको व्यवस्था गरिएको छ ।
उपलब्ध जनशक्तिले तोकिएको काम पूरा गर्न सम्भव छ कि छैन, आवश्यक पदपूर्ति गर्नुपर्ने सङ्ख्या के–कति हो लगायतका विवरण उपलबध गराइदिन सङ्घीय मामिला मन्त्रालयले पत्राचार गरेको हो । वन तथा वातावरण मन्त्रालयमातहतको वातावरण विभागले उक्त विवरणको माग गरेको हो । रासस