• १८ माघ २०८२, आइतबार

पण्डितपुरमा भेटियो दरबारको भग्नावशेष

blog

दोस्रो चरणको उत्खननबाट प्राप्त महत्वपूर्ण संरचना ।

परासी समाचारदाता  

परासी, माघ १८ गते । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकास्थित प्राचीन कोलीय गणराज्यको राजधानी मानिने पण्डितपुर (कोलनगर) मा भएको दोस्रो चरणको उत्खननबाट महत्वपूर्ण संरचना प्राप्त भएका छन् । पुरातत्व विभागको टोलीले गरेको पछिल्लो अनुसन्धानबाट त्यहाँ एक भव्य वर्गाकार दरबारको भग्नावशेषसँगै दरबारभित्रै पानीको प्राकृतिक मूल र आधुनिक शैलीको स्नानगृह जस्तो संरचना फेला परेको हो ।

पुरातत्वविद् भास्कर ज्ञवालीको नेतृत्वमा भएको उत्खननले प्राचीन इन्जिनियरिङ र जीवनशैलीका विभिन प्रमाण बाहिर ल्याएको छ  । दरबारको संरचना करिब पाँच कट्ठा क्षेत्रफलमा फैलिएको अनुमान गरिएको यो दरबारको पर्खाल, व्यवस्थित कोठा र गल्ली फेला परेका छन् । उन्नत जल प्रणाली, दरबारभित्रै पानीको आफ्नै स्रोत (मूल), इनार र स्नानका लागि छुट्टै कोठा भेटिनुले तत्कालीन विलासी र व्यवस्थित जीवनशैली झल्काउँछ । ऐतिहासिक अवशेष, कुषाणकालीन इँटा, माटोका विशिष्ट भाँडाकुँडा र दैनिक उपभोगका वस्तुले यसको ऐतिहासिकतालाई थप पुष्टि गरेका छन् ।

पुरातत्व विभागका अनुसार यहाँ भेटिएका सामग्रीको कार्बन डेटिङ गर्दा यो स्थल इसापूर्व ६०० वर्ष पुरानो अर्थात् बुद्धकालभन्दा पनि अघिको रहेको प्रारम्भिक अनुमान भएको छ । भूभौतिक सर्वेक्षणले यो प्राचीन सहर “चक्र प्रणाली” मा आधारित भएर बसालिएको देखाएको छ । अन्तः नगर र बाह्य नगर गरी यो ऐतिहासिक सहर करिब एक सय बिघा क्षेत्रफलमा फैलिएको विशेषज्ञहरूको अनुमान छ । उत्खनन टोलीका सदस्य नारद यादवका अनुसार बजेट र समय अभावका कारण अहिले दोस्रो चरणको कार्य सकिए पनि दरबारको पूर्ण स्वरूप हेर्न बाँकी नै छ । 

पुरातत्वविद्ले यो पुरातात्त्विक क्षेत्रलाई पर्यटक र बौद्ध तीर्थयात्रीका लागि खुला राख्न सुझाव दिएका छन् । रामग्राम नगरपालिकाले जग्गा अधिग्रहण वा भाडाको प्रक्रिया अगाडि बढाएर यसलाई एक प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखेको छ । यदि यो उत्खनन्ले पूर्णता पाएमा कोलीयवंशको लुकेको वैभव विश्वसामु उजागर हुने विश्वास गरिएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वय शाखा प्रमुख तुलसीराम लामिछानेले पण्डितपुरको खोजलाई लुम्बिनी र रामग्रामसँग जोडेर हेर्नुपर्नेमा जोड दिनुभयो । आयोजना कार्यान्वयन एकाइमार्फत हामीले यस्ता पुरातात्त्विक क्षेत्रहरूको एकीकृत विकास र प्रचारप्रसारमा समन्वय गरिरहेका छौँ, ताकी पर्यटकहरू लुम्बिनी आएपछि पण्डितपुरसम्म पनि सहजै पुग्न सकुन् । 

यस ऐतिहासिक खोजको संरक्षण र प्रवर्धनका लागि स्थानीय तह र विज्ञले विशेष चासो देखाएका छन् । रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले पण्डितपुरको ऐतिहासिक महत्वलाई हेरेर यस क्षेत्रको विकासका लागि नगरपालिका गम्भीर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पण्डितपुर कोलीयगणराज्यको मुटु हो । यहाँ भेटिएका दरबार र प्राचीन संरचनाले हाम्रो गौरव बढाएका छन् ।” 

पुरातत्वविद्ले यो स्थललाई पर्यटक र बौद्ध तीर्थयात्रीका लागि खुला राख्न सुझाव दिएका छन् । रामग्राम नगरपालिकाले यस क्षेत्रको जग्गा अधिग्रहण वा भाडामा लिएर पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।