• २१ माघ २०८२, बुधबार

निर्वाचन प्रहरीलाई तालिम सुरु

blog

तालिम सञ्चालन गरिदै । तस्बिर : कोकिला भण्डारी

कोकिला भण्डारी
धनकुटा, माघ १८ गते ।
निर्वाचन प्रहरीको छनोट पश्चात लौरो प्रदान गर्दै धनकुटामा तालिम दिन सुरु गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि छनोट भएका निर्वाचन प्रहरीलाई शनिबारबाट तालिम दिन सुरु गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले धनकुटाको तल्लो टुँडिखेलमा एक कार्यक्रमका बिच निर्वाचन सुरक्षा प्रहरी दुर्गाबहादुर निरौलालाई लौरो प्रदान गरेर तालिमको उद्घाटन गर्नुभएको थियो । माघ २८ सम्म उक्त तालिम सञ्चालन हुने जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीका अनुुसार निर्वाचनका लागि म्यादी प्रहरीहरुलाई भौगोलिक रूपमा टाढा खटाइनु पर्ने भएकाले आजैबाट तालिम सुरु गरिएको हो । तालिमको अवसर पारेर निर्वाचन सुरक्षा, प्रहरीले गर्नुपर्ने काम, तालिम अवधि, सेवासुविधालगायतका विषयमा जानकारी समेत गराइएको थियो ।

निर्वाचन प्रहरीलाई १० दिनको आधारभूत तालिम पश्चात पायक पर्ने स्थानमै तालिमको व्यवस्था मिलाइने जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाइएको छ । उहाँहरूलाई माघ २५ गतेपछि कार्यक्षेत्रमा परिचालन गरिने प्रहरी उपरीक्षक क्षेत्रीले बताउनुभयो ।

जम्मा एक हजार ८५ जना निर्वाचन सुरक्षा प्रहरी छनोट भएकामा उहाँहरूलाई नेपाल प्रहरीसँग समन्वय गरी परिचालन गरिने छ । अति संवेदनशील मतदान स्थलमा १०, संवेदनशीलमा ६ र सामान्य मतदानस्थलमा ५ जनाका दरले सुरक्षाकर्मी परिचालन गरिने प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

धनकुटामा एक लाख १८ हजार चार सय २४ जना मतदाता छन् । जिल्लामा कुल एक सय १९ मतदानस्थल र एक सय ६६ मतदान केन्द्र छन् । तीमध्ये १६ मतदानस्थल अति संवेदनशील, ४९ संवेदनशील र बाँकी मतदान स्थल सामान्य वर्गमा रहेका छन् ।