• १८ माघ २०८२, आइतबार

योग्य उम्मेदवार खोजी

blog

कुनै पनि राष्ट्रका लागि लोकतान्त्रिक पद्धतिमा महत्वपूर्ण राजनीतिक निर्णय गर्ने आधार निर्वाचन हो । राष्ट्रको सर्वाङ्गिण विकासका लागि प्रतिनिधि सभाको निर्वाचन महत्वपूर्ण छ । देशभर यही फागुन २१ गतेका दिन प्रतिनिधि सभाका लागि निर्वाचन हुँदै छ । मुलुक निर्वाचनको महाकुम्भमा होमिएको छ । निर्वाचन स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण हुनु जरुरी छ । अब देशको राजनीतिक अवस्थालाई एक निश्चित धारमा पुर्‍याउन अबको निर्वाचनमा योग्य उम्मेदवार छान्ने दायित्व नेपाली नागरिकमा आएको छ । यस पटकको चुनाव गत वर्षका चुनावभन्दा रोचक तथा फरक देखिन्छ । नयाँ राजनीतिक दलको आगमन, स्वतन्त्र उम्मेदवार, समावेशी उम्मेदवारको बाहुल्य छ । जेनजीको भावनालाई प्राथमिकता दिन उम्मेदवारीमा परिवर्तन र नयाँ सोच लिइएकोे छ । निर्वाचनमा सहभागी हुनका लागि ६८ दल सामेल भएका छन् । केही दलले गठबन्धनमा नलागी आआफ्नै तरिकाले उम्मेदवार उठाएका पनि छन् । जेनजी आन्दोलनको प्रभावले युवा उम्मेदवार बढेको देखिन्छ । मुलुकमा सबै जनतामा आसन्न चुनावका लागि उत्साहित छन् । महिला उम्मेदवारी औसतमा घटेको देखिन्छ । सबै वर्गलाई उम्मेदवार बन्ने चुनावी मैदानमा सहभागी हुन अवसर दिएको छ ।

प्रतिनिधि सभाका उम्मेदवार पाँच वर्षका लागि निर्वाचित हुने भएकाले मतदाताले होसियारीपूर्वक प्रतिनिधि छानुन् भन्ने सबैको चाहना छ । यसका लागि विगतका चुनावमा विजयी भएकाले प्रतिनिधि सभाका सदस्यले राम्रो काम गरे या गरेनन्, जनताप्रति उत्तरदायी भएर कर्तव्य पूरा गरे/गरेनन् मूल्याङ्कन गरेर प्रतिनिधि छान्ने दायित्व मतदातामा छ । देशमा जबसम्म इमानदार, कर्तव्यपरायण, स्वावलम्बी, अनुशासित, चरित्रवान् र राष्ट्रियताको भावना कदर गर्न सक्ने जनप्रतिनिधिको हातमा देशको शासन पुग्दैन तबसम्म देश विकास सम्भव छैन । आसन्न चुनावमा कुनै पनि किसिमको कृपावाद र प्रलोभनमा नपरी स्वविवेकले योग्य प्रतिनिधि छान्नु आमजनताको दायित्व हुन्छ ।

मताधिकार जनताको राजनीतिक अधिकार हो । आफूलाई उचित लाग्ने योग्य उम्मेदवार छान्ने अधिकार नागरिकमै छ । बहुदलीय व्यवस्थामा देशमा स्वस्थ राजनीतिक वातावरण सिर्जना गर्न सबै दलको सहयोग आवश्यक छ । बहुदलीय व्यवस्था बलियो बनाउन दलहरूले पारस्परिक समझदारी, सद्भावना र समन्वयको भावना देखाई उम्मेदवार जिताउनु पर्छ । दलले पत्याएको उम्मेदवारलाई मात्र मतदान गर्नु पर्छ भन्ने बाध्यता छैन । आफूलाई उचित ठान्ने योग्य उम्मेदवार छान्ने अधिकार नागरिकमा छ । दलले पत्याएको उम्मेदवारलाई मात्र मतदान गर्नु पर्छ भन्ने जरुरी छैन । चुनावको दिन नजिकिँदै गर्दा जनतामा उमङ्ग र उत्साह बढ्दै गइरहेको छ । राजनीतिक नेता, स्वतन्त्र उम्मेदवार र कार्यकर्ता भ्याइ नभ्याइ जनताको घरदैलोमा भोटका लागि प्रचार प्रसारमा जुटेका छन् । निर्वाचन परिणाम आफ्नो पक्षमा ल्याउन चुनावी मैदानमा होमिएका छन् । 

लोकतान्त्रिक शासन व्यवस्थामा चुनाव स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण सम्पन्न गर्ने पहिलो दायित्व सरकारको हो । शान्तिपूर्ण डर, धम्की र त्रासबिनाको चुनाव हुन जरुरी छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कानुन लागु गरिसकेको छ । चुनावमा हुन सक्ने त्रुटि भनेको धाँधली हो । चुनावमा हुन सक्ने धाँधलीमा सबैभन्दा पहिले मत खसाल्दा, मत गन्ती, गर्दा, मतपेटिका लैजाँदा हुने, हुलदङ्गा र अन्य विभिन्न घटना हुन सक्छ । यसका लागि चुनाव अभियानदेखि नै हातहतियार, मसलप्रयोग, धनराशिको कारोबार, डर धम्की देखाउन सक्छ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको समयमा लुटिएका हातहतियारको प्रयोग हुनसक्ने आशङ्का पनि गरिएको छ । 

निर्वाचनको मुख्य उद्देश्य भनेको निर्वाचनमा अधिकांश जनताले मतदान दिने अवसर पाउनु हो । समयमै मतदातामा मतदान ज्ञानको खाँचो छ । मतदाताका लागि आवश्यक सूचना सामग्री उपलब्ध हुनु पर्छ । मतदातालाई निर्वाचन प्रक्रिया, निर्वाचन प्रणाली, मतदान गर्ने तरिका, उम्मेदवार छान्ने आदिको ज्ञान सबैलाई उपलब्ध गराउनु आवश्यक छ । आजकाल अधिकांशको घरघरमा इन्टरनेटको सुविधा प्राप्त हुन सकेको छ । सामाजिक सञ्जाल अन्तर्गत मोबाइलको प्रयोग गर्नेको सङ्ख्या बढेको छ । मतदानको ज्ञान यसैबाट सजिलैसँग दिन सकिन्छ । निर्वाचन आयोगबाट स्वीकृत प्रचार प्रसारका सामग्रीमा सूचना, श्रव्य दृश्य, संवाद, रेडियो तथा टेलिभिजन कार्यक्रम पत्रपत्रिका, सामाजिक सञ्जालमा अनलाइन सन्देश अन्तर्गत फेसबुक, टिकटक, भाइवर यु त्यूब, ह्वाट्सप र अन्य सामग्रीबाट सजिलै मतदानको ज्ञान दिन सकिन्छ । 

चुनावमा सबै वर्गलाई समेटनु पर्छ । जस्तो महिला समूह, युवा समूह, आदिवासी जनजाति समूह, दलित समूह, शारीरिक अपाङ्गता समूह र अन्य भाषाभाषी धर्मावलम्बीलाई प्रतिनिधित्व गर्ने गरी मतदाता सचेतन कार्यक्रम हुनु जरुरी छ । यसबाट मतदानमा अधिकांश नेपालीले सहभागी हुने अवसर पाउने छ । आफूले चाहेका उम्मेदवारको विजय गराउन मद्दत मिल्ने छ ।

निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने मुख्य आधार शान्ति सुरक्षा हो । निर्वाचनको दिन नजिकिँदै आएको अवस्थामा राजनीतिक दलहरू र अन्य उम्मेदवारबिच प्रतिस्पर्धा मात्रै होइन आरोपप्रत्यारोप पनि हुन सक्ने भएकाले सुरक्षा संयन्त्र विशेष चनाखो हुनु पर्छ । यस्तो अवस्थामा आचारसंहिताको परिपालन भए/नभएको निगरानी राख्ने काम सम्बन्धित निकायको जिम्मेवारी हुन्छ । आचारसंहिताको नियम उम्मेदवारले जान्नु आवश्यक छ । आचारसंहिता उल्लङ्घन गरेमा एक लाख रुपियाँ जरिबाना तथा उम्मेदवारी रद्द गर्न सक्ने व्यवस्था, निर्वाचन कसुर मानिने कार्यको हकमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही हुने छ । यसका लागि सरोकारवाला निर्वाचन आयोग, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना निर्वाचनको समय सुरक्षाका लागि क्रियाशील हुनु जरुरी छ । यसो हुन सके आगामी निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित सम्पन्न गर्न सरकारलाई सहयोग पुग्ने छ । यसका लागि सबै पक्षबाट कार्यान्वयनका तयारी रहेको जानकारी दिँदै आएको छ । 

जनतामा पनि निर्वाचनको व्यवस्थापन सुरक्षित हुन्छ भन्ने विश्वास छ । सरकार, निर्वाचन आयोग र अन्तर्राष्ट्रिय जगत्ले समेत चुनावका सम्बन्धमा चासो लिएकाले पनि निर्वाचन महìवपूर्ण हुने छ । चुनावमा योग्य र देश हाँक्न सक्ने उम्मेदवार छान्न नेपालीले आफ्नो दायित्व निभाउने छ । भिडको पछि होइन, मुलुकको भविष्य हेरेर मतदान गरौँ ।