नवराज नेपाली
बागलुङ (गलकोट) माघ १८ गते । राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा)बाट समानुपातिक उम्मेदवार रहेका सपुतले आफ्नै निर्वाचन क्षेत्र बागलुङ क्षेत्र नम्बर १ बाट चुनावी अभियान थाल्नुभएको छ ।
मेला महोत्सवमा गृह जिल्लामा आउनुभएका कलाकार प्रकाश सपुत यस पटक भने चुनावी अभियानमा भोट माग्न गृह जिल्ला बागलुङ आउनुभएको छ । गृह जिल्ला बागलुङको प्रसिद्द धार्मिकस्थल पञ्चकोटधाममा रहेको पाँच हजार पाँच सय ५५ किलोको महाघण्ट अघि बालेनको जस्तो कालो पोषाकमा सजिएको तस्बिर खिचाएर सामाजिक सञ्जालमा साझा गर्नुभएको थियो । गृह जिल्लाको पञ्चकोटबाट आर्शिवाद लिएर देशव्यापी रास्वपाको चुनावी अभियानमा लागेको बताउदै सपुतले चुनावी यात्रा शुरु भएको जानकारी दिनुभयो ।
फेसबुकमा सपुतले लख्नुहुन्छ, ‘‘राजनीतिक अस्थिरताको अन्त्य भएर, स्थिर सरकार बनोस् भन्ने सपना र लक्ष्यसँगै नयाँ यात्रामा निस्केको छु ।’’ बागलुङ क्षेत्र नम्बर एकका रास्वपाका प्रत्यक्ष उम्मेदवार सुसिल खड्कालाई भोट माग्दै पश्चिम बागलुङको दुई नम्बर क्षेत्रमा पुग्ने सुपतले बताउनुभयो ।
सपुतले बझाङ र अछाममा आफू खटिएको जानकारी दिदै गृह जिल्लाबाट विभिन्न जिल्लामा जाने योजना रहेको सुनाउनुभयो । आवश्यकता अनुसार अन्य जिल्लामा समेत जाने सपुतले जानकारी दिनुभयो । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा जन्मेका सपुत पहिलोपटक राजनीतिक यात्राका लागि बागलुङ आउनुभएको छ । बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा राखिएको पाँच हजार पाँच सय ५५ किलोको मुक्तिनाथ महाघण्टसँग बालेन स्टाइलमा तस्बिर सार्वजनिक गर्नुभएको हो ।
घण्टी चुनाव चिन्ह रहेको रास्वपाले नेपालकै ठूलो घण्टीको उपमा पाएको महाघण्टमा तस्विर खिचाएर साङ्केतिक रुपमा चुनावी यात्रा थालेको सपुतले जनाएका छन् । मुक्तिनाथ महाघण्ट पञ्चधातु सुन, चाँदी, तामा, पित्तल र फलाम मिसाएर बनाइएकाले यो घण्टीलाई ‘महाघण्टी’ नाम दिइएको छ ।