काठमाडौँ, माघ १८ गते । मुलुकमा यतिखेर फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको माहोल छाएको छ । यही माहोलमा प्रभावशाली ठानिएका पुरुष नेतृत्वसँगको भिडन्तमा चर्चित महिला उम्मेदवारहरूको चुनावी प्रतिस्पर्धा चर्केको छ । अन्य क्षेत्रभन्दा प्रभावशाली पुरुष नेताहरूसँग कडा प्रतिस्पर्धामा रहेका महिला नेतृहरूले अझ धेरै मेहनत गर्नुपर्ने चुनौती देखिएको छ । त्यसका लागि आफ्नै राजनीतिक दलबाट आवश्यक थप सहयोग र समर्थन महिला उम्मेदवारहरूले पाउन सकेका छैनन् ।
सर्वाधिक चर्चामा रहेको कोशी प्रदेशको झापा क्षेत्र नम्बर ५ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र शाहको चुनावी टक्कर कडा देखिएको छ । उच्च प्रतिस्पर्धाको यो माहोलमा नेपाली कांग्रेसकी उम्मेदवार नेतृ मन्धरा चिमरियालाई ‘बलियाको जुधाइ कमजोरको मिचाइ’ मा परे जस्तो हुने हो कि भन्ने चिन्ता छ ।
दुवै दलका पुरुष उम्मेदवार साम, दाम, दण्ड, भेद सबै कुराको प्रयोग गरेर मतपरिणाम आफ्नो पोल्टामा पार्न तयार रहँदा महिला उम्मेदवार चिमरिया भने आफ्नै लयमा चुनावी प्रचारमा व्यस्त हुुनुहुन्छ । दलीय हिसाबमा नेपाली कांग्रेसको प्रभाव उक्त क्षेत्रमा त्यति नराम्रो नरहे पनि पछिल्लो माहोलले उहाँको प्रचार प्रसारलाई नराम्रो प्रभाव पारिरहेको बताइन्छ । उहाँसँगै त्यहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रञ्जित तामाङ र शोभा भण्डारीसहित अन्य दस जना स्वतन्त्र उम्मेदवारसमेत हुनुहुन्छ ।
अर्को सर्वाधिक चर्चाको क्षेत्र मानिएको चितवन क्षेत्र नम्बर २ र ३ मा पनि प्रभावशाली पुरुष नेताहरूसँग दुई चर्चित महिलाको प्रतिस्पर्धा देखिएको छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उम्मेदवार हुनुहुन्छ । उहाँले पहिलेका निर्वाचनमा ठुलो मतान्तरले जित हासिल गर्नुभएको थियो । त्यस्तै नेकपाबाट प्रताप गुरुङ र नेकपा (एमाले) बाट अस्मिन घिमिरे गरी पुरुष नै उम्मेदवार हुनुहुन्छ । त्यहाँ पहिलो पटक नेपाली कांग्रेसले महिला नेतृ मीना खरेललाई उभ्याएको छ । मतदाताको घरदैलोमै रहनुभएकी उहाँ पुरुष नेताहरूभन्दा आफू नै त्यो क्षेत्रको प्रभावशाली भएको दाबी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “यहीँ बसेर लामो समय सङ्घर्ष गरेको छु, म झन् उनीहरूका लागि ‘हेभिवेट’ हुँ, पुरुष नेताहरूले एक दुई पटक जित्दैमा ‘हेभिवेट’ भनेर उचालिदिँदा म मात्र हैन अन्य महिला उम्मेदवार छायामा पारिने गरेको छ, त्यो जायज हैन ।” महिला उम्मेदवारका लागि पुरानो कालखण्डदेखि नै ‘आफैँ लड र जित’ को अवस्था नेपाली कांग्रेसमा पनि कायम रहेको उहाँको भनाइ छ । उहाँ थप्नुहुन्छ, “महिलालाई साँच्चैको अगाडि बढाउने हो भने जित सुनिश्चित रहेका ठाउँहरूमा निरन्तर दुई चार वटा आमनिर्वाचनमा स्थान दिने थिति बसाल्नु पर्छ ।”
चितवन क्षेत्र नम्बर ३ अर्को चर्चाको क्षेत्र हो, जहाँ भरतपुर महानगरपालिकाकी पूर्वप्रमुख तथा नेपाली कम्युनिस्ट पार्टीकी नेतृ रेणु दाहाल, नेपाली कांग्रेसका पुराना नेता टेकप्रसाद गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोविता गौतम र नेकपा (एमाले) बाट शङ्करराज थपलियाको चौपक्षीय चुनावी भिडन्त रहेको बताइन्छ । महानगरको दुई कार्यकाल प्रमुख भइसक्नुभएकी दाहाल नेकपा अध्यक्ष पुष्पकमल दाहालकी छोरी पनि हुनुहुन्छ । कुनै पुरुष नेताभन्दा आफू कम नरहेको ठान्ने दाहाल भयरहित वातावरणमा निष्पक्ष निर्वाचन भएमा परिणाम आफ्नो हातमा आउने दाबी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “मेरो सवालमा महिला र पुरुषभन्दा पनि जनतामाझ पहिलेदेखि कसले मेहनत गरिरहेको छ भन्ने कुरा मतदाताले बुझ्न जरुरी छ ।” उता रास्वपाकी सोविता गौतम जनताको भविष्यका लागि रास्वपाबाट आफ्नो उम्मेदवारी रहेको बताउँदै आउनुभएको छ । छेउकै अर्को चुनावी क्षेत्रमा आफ्नै अध्यक्ष रहेकाले उहाँलाई त्यसको आडभरोसा मिलेको छ । उहाँहरू जस्तै एमालेकी भगवती चौधरी, जुलीकुमारी महतो, जसपाकी मीनाक्षी ठाकुर, नेकपाकी मेनका भण्डारी र धर्मशीला चापागाईं, रास्वपाकी इन्दिरा रानामगर, तोसिमा कार्की र रञ्जु न्यौपाने, कांग्रेसकी कुसुमदेवी थापा पनि बलिया पुरुषहरूसँगको चुनावी भिडन्तमा पर्नुभएको छ । तर बलियासँगको भिडन्तमा रहेका महिला उम्मेदवारलाई सघाउन पार्टीका वरिष्ठ नेताहरू अहिलेसम्म पुगेका छैनन् ।
सामाजिक संरचना बाधक
नेपालमा जुनसुकै राजनीतिक व्यवस्था आए पनि महिलाका लागि प्रत्यक्ष चुनावी दौड सहज हुन सकेको छैन । नेपालमा २०१० सालदेखि मतदानको अधिकार प्रयोग गरेका महिलाले त्यही वर्षदेखि चुनावी प्रतिस्पर्धामा भाग लिएको इतिहास छ ।
अहिलेसम्मको अवस्था हेर्दा महिलालाई अप्ठ्यारो पार्ने भनेको यहाँको सामाजिक सांस्कृतिक संरचना र पछिल्लो समय प्रविधिको पहुँच रहेको मनोसामाजिकविद् पदम जोशी बताउनुहुन्छ ।
निर्वाचनमा उत्पन्न हुने मनोसामाजिक अवस्थाका बारेमा अध्ययन गरिरहनुभएका उहाँले भन्नुभयो, “अध्ययनका क्रममा विश्वकै परिवेश महिला उम्मेदवारका लागि सहज नभएको र नेपालको अवस्था झन् जटिल रहेको अन्तर्राष्ट्रिय अध्ययनहरूले पनि दर्साएको छ ।”
नेपाली महिलाको भूमिका बढी जसो पारिवारिक मामिलामा रहेको पाइन्छ । त्यसले गर्दा जसरी पुरुष उम्मेदवारले चुनावमा पैसा, जनशक्तिलगायत सबै शक्ति प्रयोग गरेर रात दिन लागिपर्छन् । त्यो सुविधा महिलालाई नभएको तर्क उहाँ गर्नुहुन्छ । महिला निर्वाचनको प्रचार प्रसारमा हिँड्दा त्यहाँ भिड बढी पुरुषको हुन्छ; जसले महिलामाथि मानसिक दबाब पार्छ नै । भाषण गर्दा वा आफ्ना कुरा भन्दा कस्तो सोच्ने हुन् भन्ने दबाब पर्छ ।
महिला निर्वाचनमा उठेपछि उसका पारिवारिक विवाद र सामाजिक विवादका पुराना नकारात्मक विवादहरू अर्को पक्षले उठाइदिँदा अर्को सामाजिक दबाब पर्ने पनि जोशी औँल्याउनुहुन्छ ।