काठमाडौँ, माघ १७ गते । आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले तीव्रता दिएको छ । आयोगले हरेक जिल्लामा प्रमुख निर्वाचन अधिकृत र निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत तोकिसकेको छ । अन्य कर्मचारी पनि फागुन लाग्नेबित्तिकै खटाइने आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले आफैँ समन्वय गरेर निर्वाचनका लागि अन्य कर्मचारी खटाउने छ । यस पटक मुख्य सहरमा आयोगले मुख्य निर्वाचन अधिकृत र अधिकृतमा महिलालाई प्राथमिकता दिएको छ । काठमाडौँको त १० वटा निर्वाचन क्षेत्रमध्ये नौ वटा क्षेत्रमा महिलालाई निर्वाचन अधिकृत बनाइएको छ ।
जस अनुसार काठमाडौँ निर्वाचन क्षेत्र नं. २ मा महान्यायाधिवक्ता कार्यालयका उपन्यायाधिवक्ताका रूपमा कार्यरत शान्ति न्यौपानेलाई खटाइएको छ । क्षेत्र नं. ३ मा महालेखा नियन्त्रण कार्यालयका निर्देशक चमिला भट्टराईलाई खटाइएको छ भने क्षेत्र नं. ४ मा उच्च सरकारी वकिल कार्यालय पाटनका उपन्यायाधिवक्ता कृष्णा भण्डारीलाई खटाइएको छ । त्यस्तै निर्वाचन क्षेत्र नं. ५ मा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव श्रद्धा रिजाललाई खटाइएको छ । क्षेत्र नं. ६ मा उच्च सरकारी वकिल कार्यालय पाटनका उपन्यायाधिवक्ता चपला पोखरेल र क्षेत्र नं. ७ मा आन्तरिक राजस्व विभागका उपन्यायाधिवक्ता सविता शर्मालाई तोकिएको छ ।
त्यस्तै क्षेत्र नं ८ मा रक्षा मन्त्रालयका उपसचिव सम्झना खनाल तथा क्षेत्र नं. ९ मा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा कार्यरत उपसचिव मेनुका घिमिरेलाई तोकिएको छ । क्षेत्र नं. १० मा सर्वोच्च अदालतका उपरजिष्ट्रार अमृताकुमारी शर्मालाई तोकिएको छ । त्यस्तै कास्की क्षेत्र नं. १ मा सीता शर्मा, २ मा निर्मलाकुमारी खड्कालाई तोकिएको छ । उहाँहरू दुवै जना सर्वोच्च अदालतका इजलास अधिकृत हुनुहुन्छ ।
आयोगका अनुसार बागलुङ क्षेत्र नं. १ मा सीता शर्मा अधिकारी, नवलपरासी (बर्दघाट सुस्तापूर्व) २ मा सीता अधिकारी तथा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) २ मा इन्दुदेवी पौडेललाई निर्वाचन अधिकृत तोकिएको छ । अधिकारी सर्वोच्च अदालतका उपरजिस्ट्रार तथा पौडेल महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव हुनुहुन्छ । सिन्धुली जिल्ला क्षेत्र नं. १ मा जिल्ला सरकारी वकिल कार्यालय रामेछापका जिल्ला न्यायाधीश नीमा घिमिरे, सिन्धुपाल्चोक २ मा सिन्धुपाल्चोक जिल्ला अदालतका जिल्ला न्यायाधीश रीताकुमारी बख्रेल, मकवानपुरको मुख्य निर्वाचन अधिकृत मकवानपुर जिल्ला अदालतका न्यायाधीश गीता श्रेष्ठ, भक्तपुर २ मा जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता राधिका सुवाल, ललितपुर क्षेत्र नं. १ र २ मा सर्वोच्च अदालतका इजलास अधिकृतद्वय इशा सुवेदी र सम्झना सिम्खडा पुडासैनीलाई निर्वाचन अधिकृत तोकिएको छ ।
आयोगका प्रवक्ता भट्टराईका अनुसार निर्वाचन आयोगले न्याय परिषद्को परामर्शमा ७७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ८८ जना न्याय सेवाका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो । महिला नेतृत्वमा हुने निर्वाचन लोकतान्त्रिक अभ्यासका लागि उदाहरणीय बन्ने आयोगका प्रवक्ता भट्टराईले बताउनुभयो । आयोगले न्याय सेवा आयोगको परिषद्को परामर्शमा ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा र न्याय सेवा आयोगको परामर्शमा ८८ जना न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचनमा खटाएको हो । आगामी फागुन २१ को लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा माघ २ गतेसम्म आफू खटिएको क्षेत्रभित्र मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनको काम गर्नसमेत आयोगले भनेको थियो । अब निर्वाचनको दिन आवश्यक पर्ने सहायक कर्मचारी तोक्ने र खटाउने विषयमा तयारी भइरहेको पनि भट्टराईले बताउनुभयो । २७५ सदस्यीय प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ ।