न्यूयोर्क, माघ १४ गते । संयुक्त राज्य अमेरिकाका व्यापार प्रतिनिधि जेम्सन ग्रीरले भारत र यूरोपेली सङ्घबिच सम्पन्न व्यापार सम्झौतापछि भारतले युरोपेली बजारमा महत्त्वपूर्ण पहुँच पाएको बताउनु भएको छ । उहाँले भन्नुभयो,“यस सम्झौताले भारतका वस्तु र सेवालाई यूरोपमा सजिलै प्रवेश गराउने र नयाँ व्यापार अवसर सिर्जना गर्ने छ ।”
ग्रीरका अनुसार, अमेरिकाको व्यापार नीतिमा परिवर्तन र उच्च कर लागु हुनुका कारण अन्य देशले वैकल्पिक बजार खोजिरहेका बेला भारत–यूरोप सम्झौता भारतका पक्षमा ठुलो अवसर बनेको छ । यसले भारतलाई यूरोपेली बजारमा व्यापक पहुँच दिएको छ । भारत र यूरोपेली सङ्घबिचको यो सम्झौता लगभग दुई दशक लामो वार्तापछि जनवरी २०२६ मा सम्पन्न भएको हो ।
सम्झौता लागु भएपछि भारतीय निर्यात वस्तु लगायतका उत्पादनमा भन्सार छुट तथा शून्य करको सुविधा मिल्ने अपेक्षा गरिएको छ । यसले साना र मझौला व्यवसायलाई पनि लाभ पुर्याउने छ । विश्लेषकका अनुसार, यस कदमले भारतको निर्यात वृद्धि, रोजगारी सिर्जना र आर्थिक समृद्धिमा योगदान गर्ने छ ।
साथै, यसले भारत र यूरोपबिचको आर्थिक सम्बन्धलाई लामो समयसम्म मजबुत बनाउने विश्वास पनि व्यक्त गरिएको छ । तर, केही विशेषज्ञले यस सम्झौताले केही संवेदनशील क्षेत्रमा अन्तरिक प्रतिस्पर्धा बढाउने जोखिम पनि ल्याउन सक्ने बताएका छन् । व्यवहारमा लागु गर्दा ती क्षेत्रमा दबाब बढ्न सक्ने सम्भावना रहेको विश्लेषकले बताएका छन् । रासस/एपी