फूलबारी समाचारदाता
फूलबारी (कैलाली), माघ १४ गते । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा नेपाली कांग्रेसका नेता नरनारायण शाह (मनु) ले आगामी चुनावका एजेन्डा, गुनासो तथा सुझाव सङ्कलन सुरु गर्नुभएको छ ।
निर्वाचन प्रचारप्रसारलाई प्रभावकारी, व्यवस्थित र जनमुखी बनाउने उद्देश्यका साथ उहाँले धनगढी उपमहानगरपालिकाका विभिन्न वडामा सम्पर्क कार्यालय सञ्चालनमा ल्याउँदै सुझाव सङ्कलनमा लाग्नुभएको छ । स्थापना गरिएका सम्पर्क कार्यालयलाई निर्वाचन अवधिभर जनताको गुनासो, सुझाव र अपेक्षा सङ्कलन गर्ने केन्द्रका रूपमा प्रयोग गरिने उम्मेदार शाहले बताउनुभएको छ । निर्वाचनलाई सभ्य, मर्यादित र अनुशासित बनाउनु सबै राजनीतिक दल र उम्मेदवारको साझा दायित्व भएको बताउनुहुँदै शाहले चुनावी प्रतिस्पर्धाका नाममा आरोप प्रत्यारोप, व्यक्तिगत आक्षेप र नकारात्मक प्रचारमा नलाग्नसमेत आग्रह गर्नुभयो ।
धनगढी उपमहानगरपलिकाका १९ वडा र कैलारी गाउँपालिकाका ६ र ९ गरेर कैलाली ५ मा २१ वडा रहेका छन् । जसमा उम्मेदवार शाहले सोमबार धनगढी उपमहानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ११ र १३ मा एकै चरणमा सम्पर्क कार्यालय स्थापना गर्नुभएको थियो ।