• १४ माघ २०८२, बुधबार

युवा उम्मेदवारका कारण मतदातामा उत्साह

blog

चितवन समाचारदाता

चितवन, माघ १४ गते । विगतका निर्वाचनभन्दा यस पटकको प्रतिनिधि सभामा नयाँ युवा उम्मेदवार भएपछि मतदातामा उत्साह थपिएको छ । लामो समयदेखि एउटै र पुराना अनुहारका उम्मेदवार हुँदा मतदातामा उत्साह कम भएको थियो तर यस पटक पुराना राजनीतिक दलले नयाँ र युवा उम्मेदवार निर्वाचनमा उठाएपछि मतदाता छनोट गर्न उत्साह थपिएको हो । 

भरतपुर महानगरपालिका–११ का कमल घिमिरेले भन्नुभयो, “सधैँ एउटै अनुहार उम्मेदवार भएर आउँदा दिक्क लागेको थियो अहिले नयाँ अनुहारका उम्मेदवार आउनुभएको छ । कसलाई मत दिने हो भन्ने कुरा छनोट गर्न पाइन्छ । त्यसैले भोट हाल्न खुसी लागेको छ ।”

मनोनयन दर्ता गरेपछि अहिले उम्मेदवारहरू विभिन्न कार्यक्रममार्फत मतदाताको घरदैलोमा जाने काम गर्दै आएका छन् । गाउँ टोल तथा अन्य गतिविधिमा उम्मेदवारले सक्रियता बढाएका छन् । राजनीतिक दलहरूले निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई विजयी गराउनका लागि निर्वाचन परिचालन समिति निर्माण गरेर जिम्मेवारी प्रदान गरेका छन् । 

नेकपा (एमाले) चितवनका अध्यक्ष कमलराज पाठकले तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन कमिटी निर्माण भएर तयारी गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले विभिन्न समिति उपसमिति निर्माण गरी योजनाबद्ध रूपमा लागेका छौँ । जिल्लामा एउटा ठुलो कमिटी निर्माण गरी सभ्य र भव्य रूपमा आफ्नो पक्षमा परिणाम आउने गरी तयारी गर्दै छौँ ।” 

नेपाली कम्युनिस्ट पार्टीका जिल्ला संयोजक रामचन्द्र अधिकारीले भन्नुभयो, “हामी अहिले निर्वाचन सम्पन्न गर्नका लागि मैदानमा उत्रेका छौँ । हामी विपक्षी दल र विपक्षी उम्मेदवारलाई आरोप प्रत्यारोप लगाउने पक्षमा छैनौँ । हाम्रा उम्मेदवारले गरेका राम्रा कामको प्रचार गर्छौं त्यसैले हाम्रो चुनावी एजेन्डा पूरा हुन्छ ।” 

नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालले अनुभवी समाजमा अलग्गै छाप छोडेका व्यक्तिलाई उम्मेदवार बनाएकाले अन्य विषयको प्रचार गर्न नपर्ने बताउनुभयो । “सामाजिक क्षेत्रमा लामो समयदेखि काम गरेका, राजनीतिमा जीवन बिताएका, निरन्तर पार्टी र समाजका लागि काम गरेका व्यक्ति नै उम्मेदवार हुनुहुन्छ त्यसैले मतदाताले भोट हाल्नेमा हामी ढुक्क छौँ,” उहाँले भन्नुभयो । 

अहिले दलहरू भेला र निर्वाचनको माहोल बनाउने काममा जुटेका छन् । दलले पहिलो पटक उम्मेदवारको टिकट युवालाई दिएपछि युवा मतदाता उत्साहित देखिएका हुन् । रत्ननगर नगरपालिका–१० का युवा मतदाता केशव पौडेलले भन्नुभयो, “सामाजिक सञ्जालमार्फत उम्मेदवारले मत मागी राख्नुभएको छ । कसलाई जिताउने भन्ने अधिकार हामीलाई नै हुन्छ । युवाले अब देश हाँक्नु पर्छ त्यसैले मुद्दा उठाउने युवा उम्मेदवारलाई मत दिने छु ।” 

पहिलो पटक निर्वाचनमा सहभागी हुँदै गर्नुभएका कालिका नगरपालिका–६ का अमित लामाले भन्नुभयो, “हामीलाई रोजगारी आवश्यक छ । जसले रोजगारीको एजेन्डा उठाएका छन् र विश्वासिलो उम्मेदवार छ उसैलाई मेरो मत हुने छ ।” पहिला पनि धेरै जनाले भोट माग्न आए तर हामी जस्ताको भावना बुझ्ने कोसिस गरेनन् त्यसैले अब राम्रोसँग बुझेर मात्र भोट हाल्ने छु,” उहाँले भन्नुभयो ।  

जिल्ला निर्वाचन कार्यालयका अनुसार यही फागुन २१ गते हुने निर्वाचनमा जिल्लाका तीन निर्वाचन क्षेत्रमा ३३ हजार ७४० जना नयाँ मतदाता थपिएका छन् । तीमध्ये अधिकांश युवा मतदाता रहेका छन् । जिल्लामा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन् । निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीका अनुसार क्षेत्र नम्बर १ मा एक लाख ४९ हजार ६२१ जना मतदाता छन् । 

यस क्षेत्रमा ५६ वटा मतदान स्थल र १६८ वटा मतदान केन्द्र छन् । क्षेत्र नं. २ मा एक लाख ३७ हजार १५२ जना मतदाता भने ४८ वटा मतदान स्थल र १५२ वटा मतदान केन्द्र रहेका छन् ।

क्षेत्र नं. ३ मा एक लाख ५५ हजार ३०९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । प्रतिनिधि सभामा २०७९ मा चितवनमा चार लाख आठ हजार ३४२ मतदाता थिए ।