• १४ माघ २०८२, बुधबार

‘अग्निचक्षु’ को मञ्चन सुरु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १४ गते । विश्वकै एक मात्र जीवित देवी कुमारीको विषयमा सर्वनाम थिएटर कालिकास्थानमा ‘अग्निचक्षु’  नाटकको नियमित मञ्चन सुरु भएको छ । साइलेन्ट एक्टको प्रस्तुति र नागरिक कल्याण समाज नेपालको आयोजनामा आइतबारदेखि मञ्चन सुरु भएको नाटक माघ २५ गतेसम्म चल्ने छ । 

नाटकमा सांस्कृतिक पृष्ठभूमिमा नारी सशक्तीकरणको आवाज उठाइएको छ । समाजशास्त्र अध्ययन गर्दै गरेकी बांलाले आफ्नो शोधकार्यको विषय कुमारी छनोट गरेकी छिन् । यसै सन्दर्भमा पूर्वकुमारी अष्टलक्ष्मी र उनीसँग जोडिएका व्यक्तिसँग अन्तर्क्रिया गर्दै सन्दर्भ सामग्री जम्मा गरेकी हुन्छिन् । यिनै कुरालाई बुनेर नाटकका घटना बनेका छन् । व्यक्तिगत स्वार्थ त्याग गरेर राष्ट्र (नेपालमण्डल) जोगाउन गरेको मय्जुलानीको वीराङ्गनाको कथा आएको छ । परापूर्वकालदेखि नै कुमारीप्रति श्रद्धा गर्दै आएको इतिहास पनि यसको सूक्ष्म विषय हो । मल्ल राजाका आराधनाकी देवीका रूपमा कुमारीलाई लिइँदै आएको इतिहास छ ।

विशेष गरी कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश तुलजा देवीसँग राज्य सञ्चालनको मार्गदर्शन लिन्थे भन्ने प्रसङ्ग पनि छ । यसै क्रममा एक दिन उनको देवीसँग कुदृष्टि परेकाले देवीले अब उप्रान्त प्रत्यक्ष दर्शन नदिने कुरा भएपछि जयप्रकाश विचलित हुन्छन् । उनले आफ्नो क्रियाकलापप्रति पश्चात्ताप गर्छन् । आफ्ना शिष्य जयप्रकाशको त्यो पश्चात्तापले देवीको मन पग्लिन्छ र “नेवार जातिको कोखबाट कुमारीका रूपमा जन्म लिने छु, उनै जिउँदी कुमारीभित्र मेरो रूप हुने छ, तिनैलाई मेरो प्रतिमाका रूपमा लिनू” भनेपछि जयप्रकाश मल्लले काठमाडौँको वसन्तपुरमा कुमारीघर बनाएर राजकीय सम्मानका साथ कुमारी राख्ने चलन चलाउँछन् । यो चलन अहिलेसम्म चलिआएको छ ।

यस नाटककी प्रमुख पात्र अष्टलक्ष्मी सामाजिक खराब परिपाटीबाट विचलित देखिन्छिन् । उनी आफ्नो प्रेमी सुलभको खराब प्रवृत्ति अनि आफ्नो पारिवारिक माया ममताको अभावमा घरै छाडेर हिँड्ने मनस्थितिमा हुन्छिन् । बांला र चिताइदारको उत्प्रेरणाले समाज रूपान्तरणमा नारी शक्तिको महत्व बोध गराइएपछि अष्टलक्ष्मी समाजबाट हटेर हैन डटेर अगाडि बढ्ने मनस्थितिमा पुग्छिन् र नाटक सकिन्छ ।

चन्द्रप्रसाद पाण्डेयले लेख्नुभएको यो नाटक पहिलो पटक २०८१ सालमा शिल्पी थिएटरमा मञ्चन गरिएको थियो । त्यसपछि बुढानीलकण्ठ स्कुलको नेपाली विभागद्वारा त्यहीँका विद्यार्थी भाइबहिनीद्वारा गत मङ्सिरमा चार दिन मञ्चन भएको थियो । कृष्णभक्त महर्जनले नाट्य प्रस्तुति संयोजनको अभिभारा वहन गर्नुभएको छ । यस नाटकमा कृष्णभक्त महर्जन, मञ्जु श्रेष्ठ, हेना नगरकोटी, सुशील राजोपाध्याय, सलोना वज्राचार्य, श्रीशेष श्रेष्ठ, कुन्दन शाक्य, धीरज थापामगर, राजेन्द्र डङ्गोल र दिव्यता चौधरी (बालकलाकार) को अभिनय रहेको छ । नाटक नेपाल भाषामा पनि अनुवाद भइसकेको छ । हरिगोपाल श्रेष्ठले नेपाल भाषामा अनुवाद गर्नुभएको हो । कौसी थिएटरमा चाँडै नै नेपाल भाषामा यो नाटक मञ्चन हुने बताइएको छ ।