• १४ माघ २०८२, बुधबार

तेत्तिस दिनमा ‘पेन्सनपट्टा’ छायाङ्कन पूरा

blog

कास्की समाचारदाता

कास्की, माघ १४ गते । माओत्से गुरुङद्वारा निर्देशित चलचित्र ‘पेन्सनपट्टा’ को सम्पूर्ण छायाङ्कन सकिएको छ । कास्कीको पर्यटकीय गाउँ ताङतिङबाट छायाङ्कन सुरु भएको चलचित्रको ३३ दिन लगाएर ‘इन्डक्लाप’ गरिएको हो । चलचित्र कास्कीको ताङतिङ, पोखरा, चितवनलगायतका ठाउँमा छायाङ्कन गरिएको छ । निर्देशक गुरुङले केही दिनमै पोस्ट प्रोडक्सनमा जाने र चलचित्रको प्रदर्शन मिति प्राविधिक काम सकेर अलिकति पछाडि घोषणा गर्ने जनाउनुभयो । “चलचित्र मेहनत गरेर बनाएका छौँ । प्रदर्शनका लागि अहिले नै आत्तिदैनौँ । सम्पूर्ण काम सकेर बल्ल मिति तय गर्ने छौँ,” उहाँले भन्नुभयो । गुरुङले दर्शकका लागि सुन्दर र गुणस्तरको फिल्म बनाएको बताउनुभयो । 

चलचित्रको पृष्ठभूमि भूपू लाउरेको कथा भए पनि एउटा लोभी पात्रमा आएको परिवर्तनले कसरी दानी बन्छ भन्ने मूल कुरा फिल्ममा देखाइने निर्देशक गुरुङले जानकारी दिनुभयो । चलचित्रमा दयाहाङ राई, सुनील थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, लुनिभा तुलाधारलगायतले अभिनय गर्नुभएको छ ।  

चलचित्रको छायाङ्कन सुसन प्रजापतिले गर्नुभएको हो । झुमा लिम्बू, मनोज थापामगर र शिव बराइलीको सङ्गीत सुन्न सकिने छ । मीन कोन्मे गुरुङ, भोजबहादुर गुरुङ र सपना गुरुङको लगानी रहेको यस फिल्मको प्रोडक्सन म्यानेजर डिबी गुरुङ हुनुहुन्छ । माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र निर्देशक गुरुङ स्वयम्को लेखन तथा लगानी रहेको छ ।