• १४ माघ २०८२, बुधबार

छन्द कविता लिएर ‘पलेँटी’ मा भूषिता

blog

काठमाडौँ , माघ १४ गते । छन्द कविताप्रेमीका निम्ति पलेँटीले यस पल्ट भूषिता वशिष्ठलाई प्रस्तुत गर्ने भएको छ । भूषिताले झन्डै सात वर्षपहिले पनि पलेँटीमा छन्द कविताको अनुष्ठान गर्नुभएको थियो । यसपालिको पलेँटीमा भूषिताले आफ्नो छन्द वाचनलाई नवरसमा आधारित गरेको जानकारी दिनुभयो । उहाँले विभिन्न कविका भिन्न रसका रचना छान्दै अभ्यास गरिरहनुभएको छ । नेपाली साहित्यका अग्रज कविका कविताका साथै पछिल्लो पुस्ताका रचना समावेश पलेँटीमा भूषिताले आफैँले रच्नुभएको कविता पनि प्रस्तुत गर्नुहुने छ ।

यसपालिको छन्द वाचनमा लेखनाथ पौडेल, सोमनाथ सिग्द्याल, मोतीराम भट्ट, भैरव अर्याल, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, लोकप्रिया देवकोटा, नयराज पन्त, मनोज भण्डारी, भरतमणि भट्टराईका साथै भूषिताका रचना समावेश हुने छन् ।

‘पलेँटीलाई दोस्रोपल्ट छन्द कवितासँग सहकार्य गर्ने अवसर जुरेकोमा साङ्गीतिक टोली धेरै उत्साहित रहेको सङ्गीतकार आभासले बताउनुभयो । झन्डै सात वर्षपहिले गरेको छन्द पलेँटीको प्रभावले यस विधाप्रति अझै आकर्षण बढेको अनुभूति भएको उहाँको भनाइ छ ।